हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान एन्टीजिन टेस्ट गर्दा हेटौंडा–१ का ५५ वर्षीय पुरुषमा दिउँसो संक्रमण पुष्टि भएको थियो । आइतबार दिउँसो अस्पतालको अकास्मिक कक्षमा भर्ना भएका पुरुषमा कोभिड संक्रमण देखिएपछि हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा राखिएको थियो ।
हाइ फ्लो अक्सिजन दिँदा पनि नभएपछि भेन्टिलेटर प्रयोग गर्दा गर्दै मृत्यु भएको अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडा अस्पतलामा संचालनमा आएको २० बेडको कोभिड–१९ उपचार कक्षले संक्रमितको चाप बढ्न थालेपछि धान्न नसकिने देखिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय नाघेको छ । अस्पतालको आकस्मिक सेवा, प्रसुती सेवा र ज्वरो क्लिनिकलाई यथावत राखेर आइसियू, एचडियू कक्षलाई कोभिड सेवामा परिणत गर्ने भएको छ ।
यस्तै अस्पतालको अन्य ओपिडी सेवाहरु अर्का सूचना नभएसम्म बन्द गर्ने आइतबार बसेको अस्पताल व्यवस्थापन तथा संचालन समितिको बैठकले निर्णय गरेको छ । यस्तै पिसिआर रिपोर्ट एसएमएस वा अनलाइनबाट दिइने भएको छ । कोभिड–१९ परिक्षण गरी रिपोर्ट बिरामीहरुलाई अस्पताल परिसर भित्र कोभिड सस्पेक्टेड वार्डमा राखी अन्तरिम उपचार सेवा दिने निर्णय गरिएको अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सब चौलागाईले जानकारी दिनुभएको छ ।