हेटौंडाः हेटौंडामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु आलोपालो गरी सातामा तीन दिनमात्र खुला हुँदा सेवाग्राहीको भिड बढेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हेटौंडामा सञ्चालित बैंक तथा वित्तीय संस्थासँगको बैठकपछि आलोपालो गरेर सातामा तीन दिनमात्र बैंक खोल्ने निर्णय गरेको थियो ।
बैठकको निर्णयपछि हेटौंडामा सञ्चालित वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरु एक दिन बिराएर साताको तीन दिनमात्र खुला गरिएको छ । बैंक तथा वित्तीय संस्थाले बैंक खोल्ने दिनमात्र घटाएका छैनन्, बैंक खुल्ने समयावधि पनि कम गरेका छन् । अहिले अधिकांश बैंकहरु बिहान १० बजेदेखि १ बजेसम्ममात्र खुला गरिएका छन् । यसअघि साढे तीन बजेसम्म बैंक खुला हुन्थे ।
सातामा तीन दिनमात्र बैंक खुल्ने भएपछि धेरै सेवाग्राहीको चाप हुने नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, कृषि विकास बैंकमा सेवाग्राहीको भिड बढेको हो । बैंकभित्र भिड कम गर्न सिमित संख्यामा सेवाग्राहीलाई प्रवेश दिइँदा बैंकको भर्याङ, कम्पाउण्ड तथा सडक पेटीमै सेवाग्राहीको लामो लाइन लागेको थियो ।