हेटौंडाः कोरोना संक्रमण बढ्न नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रका फुटपाथमा गरिने व्यापारमा रोक लगाउने निर्णय गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले हेटौंडा बजार क्षेत्रमा भिडभाड हुन नदिन फुटपाथमा राखेर गरिने व्यापार बन्द गर्ने निर्णय गरे पनि बजार क्षेत्रमा ठेला तथा फुटपाथको व्यापार राकिएको छैन ।
हेटौंडा–१० स्थित बसपार्कमा ठेलाहरुमा दिनभरी नै तरकारी तथा फलफूल बेच्नेक्रम रोकिएको छैन । हेटौंडा–१० मा रहेको तरकारी बजार तथा हेटौंडा–४ खोपेगल्लीको तरकारी बजार बिहान ८ बजेसम्म मात्र खोल्न दिने गरिए पनि ठेला तथा अन्यत्रका तरकारी पसल भने दिनभर खुला हुने गरेका हुन् ।
कोरोना संक्रमण बढेको भन्दै दिनहुँ विभिन्न आदेश आउने गरेका छन् । शैक्षिक संस्था बन्द गर्ने, सवारी साधनमा जोरबिजोर लागू गर्ने, प्रत्यक्ष भौतिक सम्पर्क हुने र बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्ने निर्णय कार्यान्वयनमा आएका छन् । बजार क्षेत्रको भिडभाड कम गर्न सबै व्यवसाय साताको तीन दिनमात्र खोल्ने निर्णय भइसकेको छ । बढी भिडभाड हुने कतिपय सरकारी कार्यालयको सेवा पनि रोकिएको छ ।
हेटौंडाका दुईवटा तरकारी बजार बिहान ४ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने नियम लागू गरिएको भए पनि पासपार्कमा कतिपय खुद्रा व्यापारीले ठेलामा राखेर दिनभरी तरकारी बेचिरहेका छन् । तरकारी पसलचाहिँ ८ बजे बन्द गर्ने, त्यहीँ ठेलामा दिनभर तरकारी बिक्री गर्ने गरिएकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने व्यवसायीको भनाई छ ।