हेटौंडाः कोरोना भाइरस संक्रमणको पहिलो लहर सुरु भएको बेलामा निर्माण गरिएको हेटौंडाका विभिन्न स्थानका हात धुने स्टेशनको मर्मत गर्न सुरु गरिएको छ । लायन्स क्लबको अग्रसरतामा निर्माण भएको हात धुने स्टेशन लायन्स क्लबकै अग्रसरतामा मर्मत कार्य सुरु गरिएको हो ।
हात धुने स्टेशनको मर्मतका लागि लायन्स क्लब अफ मकवानपुर डायमण्डका प्रथम उपाध्यक्ष इरोज न्यौपानेलाई संयोजनको जिम्मेवारी दिइएको छ । लायन्स क्लब इन्टरनेशन ३२५ बी २ का गभर्नर शम्भु नकर्मीले आफ्नो गृह जिल्लामा कोरोना भाइरस संक्रमण जोखिमको पहिलो चरणमा हात धुने स्टेशन निर्माणमा अग्रसरता लिनुका साथै लामो दूरीमा घर फर्कने पैदल यात्रुलाई निशूल्क खाना खुवाउने कार्य समेत गरिएको थियो ।
हेटौंडा नगर क्षेत्रका एक दर्जन भन्दा बढी स्थानमा लायन्सले विभिन्न निकायको साथ र सहयोगमा हात धुने स्टेशन निर्माण गरेको थियो । मंगलबारबाट सुरु भएको मर्मत कार्य १/२ दिनमै पूरा हुने संयोजक इरोज न्यौपानेले बताउनुभएको छ । हेटौंडा बजारक्षेत्रभित्र रहेका हात धुने स्टेशनको अवस्थाका बारेमा मंगलबार निरीक्षण गरी मर्मत गर्नुपर्ने विषयको लगत संकलन गरिएको न्यौपानेले बताउनुभएको छ । हेटौंडा बजारक्षेत्रमा दुई दर्जनभन्दा बढी संख्यामा लायन्स क्लबहरु स्थापित छन् । कोरोना भाइरसको संक्रमणबाट जोखिन बेला–बेलामा हात हुन बजार क्षेत्रमा हात धुने स्टेशन निर्माण गरिएको हो ।