हेटौंडाः जिल्लाको मकवानपुरगढीका किसानहरुको तरकारी बेच्ने समस्या समाधान गर्नका लागि हेटौंडामा सुपथ तरकारी पसल सञ्चालन गरिएको छ । गढी गाउँपालिकाको वडा नम्बर २ मा अवस्थित कुर्ले कृषि सहकारी संस्थाले आइतबारबाट हेटौंडा २, संगमचोेकमा मकवानपुरगढी कृषि उपज बिक्री कक्ष सञ्चालन गरेको हो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले आइतबार कृषि उपज बिक्री कक्ष तथा सहकारी किराना पसलको उद्घाटन गर्नुभयो । सहकारीले गरेको यस किसिमको प्रयासले पालिकाभित्रका कृषकहरु बिचौलियाको समस्याबाट मुक्त हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष हुमागाईंले बताउनुभयो ।
कृषकहरुलाई आत्मनिर्भर गराउन गाउँपालिका सदैब लागिपरेको भन्दै सहकारीले कृषकलाई श्रमको उचित मूल्य प्रदान गर्ने भएकाले सहकारीले बिचौलिया नभई मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । आगामी दिनमा अझै धेरै कृषिका कार्यक्रमहरु ल्याउने उद्देश्य लिएर पालिका अगाडि बढेकोसमेत उहाँको भनाई रहेको थियो ।
तरकारी उत्पादनको राम्रो स्थान मानिने गढी गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको तरकारी हेटौंडा बजारसम्म ल्याएर बेच्न समस्या झेल्दै आउनुपरेको र कृषकले तरकारीको उचित मूल्यसमेत नपाउने समस्या अन्त्य गर्न बिक्री कक्ष सञ्चालन गरिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद हुमागाईंले जानकारी दिनुभयो । गाउँपालिकाले प्रदान गरेको ५ लाख रुपैयाँ र सहकारीको १० लाख रुपैयाँसहित कुल १५ लाख रुपैयाँको लगानीका कृषि उपज बिक्री कक्ष तथा कुर्ले सहकारी किराना पसलसमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । हाल सहकारीमा ९० जना सदस्य भएपनि सहकारीले गढी गाउँपालिकाका ८ वटै वडाका कृषकलाई समेट्ने लक्ष्य लिएको हुमागाईंको भनाई रहेको थियो । आइतबार गढीका दुई वडाबाट कृषकहरुले तरकारी ल्याउनुभएको पनि उहाँले बताउनुभयो ।
आफूले उत्पादन गरेको तरकारी आफैंले बेच्न बजार आएर दिनभरी बस्नुपर्ने र अरुलाई दिए बिचौलियाले कमाउने र आफूले कम रकम पाउने समस्या झेल्दै आउनुभएकी गढी– २ की जानुका न्यौपानेले बिक्री कक्ष स्थापना भएपछि सबै समस्या समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब त उत्पादन भएको तरकारी सिधै यहाँ ल्याएर छोड्दा हुने भयो । समयको पनि बचत अनि बजार मूल्यअनुसार नै तरकारीको मूल्य पाइने । हामीजस्ता कृषकलाई धेरै सहज भएको छ ।’
बिक्री कक्षमा टमाटर, आलु, प्याज, खुर्सानी, काक्रो, भेन्टालगायतका तरकारीका साथै कृषि उपजहरु कोदो, फापर, मकैको पिठो, धान, चामलसहित किराना सामानहरु समेत राखिएको छ ।