हेटौंडाः पछिल्लो समयमा अत्यधिक प्रयोगमा आएको कागजको गिलास (पेपर कप) को माग हाल बजारमा अत्यधिक रहेको छ । यहि मागलाई मध्यनजर गर्दै हेटौंडामै पेपर कप उद्योग सञ्चालनमा आएको छ ।

हेटौंडा उपमहानगरपालिमा वडा नं. ५ का जनकराज न्यौपानेले पेपर कप उद्योग स्थापना गरी कप उत्पादन गर्न सुरु गर्नुभएको छ । परराष्ट्र मन्त्रालयबाट सेवानिवृत्त हुनुभएका न्यौपानेले घरेलु उद्योगअन्तर्गत आफ्नै घरमा डाँफे पेपर कप उद्योग स्थापना गर्नुभएको हो । हेटौंडामा पेपर कपको प्रयोग र माग अत्यधिक रहेकाले उद्योग सञ्चालन गरिएको न्यौपानेले बताउनुभयो ।

सम्भवतः हेटौंडामा पेपर कपको उद्योग यही पहिलो र एकमात्र भएको उहाँको भनाइ रहेको छ । उद्योग सञ्चालन गर्न चिनियाँ प्रविधीको मेशिन र आवश्यक सामग्रीसहित ३० लाख रुपैयाँको लागानी गरिएको न्यौपानेले बताउनुभयो । उद्योगले दैनिक १२ घण्टा मेसिन चलाउँदा दैनिक ३२ हजार पिस पेपर कप उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

१ सय ५० मिलिलिटर साइजको कप उत्पादन गर्ने यस उद्योगले ७ जनालाई रोजगारी प्रदान गर्नेछ । २० दिनअगाडि स्थापना भएको यस उद्योगको हाल परीक्षणकाल चलिरहेको उद्योगी न्यौपानेले बताउनुभयो । नयाँ मेशिन भएकाले सोहीअनुसारका कागज र अन्य व्यवस्थापन मिलाउन केही दिन अझै लाग्नेछ । ‘उद्योगको परीक्षणकाल चलिरहेकाले हाल उत्पादित कपहरु बजारमा पठाइएको छैन’, न्यौपानेले भन्नुभयो, ‘परिक्षणकालपछि उद्योगको आफ्नै नामको डाँफे छाप पेपर कप सहुलियत मूल्यमा बजारमा उपलब्ध गराइनेछ ।’

हाल बजारमा छिटो, सहज र सस्तो भएकाले पेपर कपको प्रयोग बढिरहेको छ । उद्योगले केही मात्रामा भएपनि बजारमा पेपर कपको मागलाई पूरा गर्ने उद्देश्य लिएको छ ।