हेटौंडाः नेकपा एमाले मकवानपुरले शनिबार नेतृ मुनु सिग्देललाई सोधेको स्पष्टीकरणको जवाफ नेतृ सिग्देलले नदिने बताउनुभएको छ । पार्टीको हितविपरित कार्य गरेको तथा एमालेको खातामा भएको ९ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै एमाले जिल्ला कमिटीले उहाँलाई स्पष्टीकरण सोधेको थियो ।


सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि एमाले मकवानपुरको अध्यक्ष स्वतः आफु भएकोे नेतृ मुनु सिग्देलले दाबी गर्नुभएको छ । ‘साविक एमालेको अध्यक्ष आफु रहँदा एकलाल श्रेष्ठ सचिव थिए । अहिले म एमाले मकवानपुरको अध्यक्ष हुँ । सचिवले स्पष्टीकरण सोधेको जवाफ दिन आवश्यक छैन’, सिग्देलले भन्नुभयो । मंगलबारसम्मको समय दिएर स्पष्टीकरण सोधेपनि उहाँले आइतबारसम्म पनि स्पष्टीकरणको पत्र बुझ्नुभएको छैन । पत्र नबुझ्ने भन्दै फर्काइदिएको उहाँले बताउनुभयो ।

उहा“का अनुसार साविकको एमाले नेकपामा परिणत भएसँगै एमाले र माओवादीको सम्पूर्ण खाताहरु बन्द गर्ने निर्णय भएको थियो । नेकपा हुँदा नेकपाकै नाममा खाता खोलेर एमाले र माओवादीको अन्य सबै खता बन्द गरी भएको रकम जम्मा गरेको उहाँको भनाई छ । सोही खातामा एमालेले पनि रकम जम्मा गरेको उहा“ले दाबी गर्नुभयो । सोही खाताबाट बिजुली, पानीको बिल, कर्मचारीको तलब सुविधा दिँदै आएको र अहिले खाताको स्टेटमेन्ट नहेरेकाले कति रकम बाँकी छ, कति खर्च भएको छ भन्ने थाहा नभएको उहाँले जानकारी दिनुभएको छ । आफुले पार्टीको व्यवस्था र निर्णय अनुसार नै काम गरेको उहाँको भनाई छ । उहाँले आक्रोशित हुँदै भन्नुभयो, ‘उनीहरुले खान नपाएर सोधेको स्पष्टीकरणको जवाफ मैले किन दिने ?’
माधव नेपाल समूहकी नेतृ मुनु सिग्देललाई नेकपा एमाले मकवानपुरले शनिबार स्पष्टीकरण सोधेको थियो । साविक नेकपा एमालेको नाममा अध्यक्ष हुँदा कृषि विकास बैंक हेटौंडा शाखामा रहेको खाताको ९ लाख ३५ हजार झिकेर आफुखुशी खर्च गरेको भन्दै पार्टीको पैसा किन दुरुपयोग गरियो भनेर एमाले मकवानपुरले उनलाई स्पष्टीकरण सोधेको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जिल्ला किमिटीको अध्यक्षमा रहँदा पार्टीको हितविपरित कार्य गरेको, पार्टी अध्यक्ष केपी शर्मा ओलिको विरुद्धमा अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप लगाएको, पार्टीको नाम र लोगोको अनाधिकृत रुपमा प्रयोग गरेको तथा पुष्पकमल दाहालको मतियार भई पार्टी हितविपरित किन कार्य गरेको भनी स्पष्टीकरण सोधिएको छ । यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अनुशासनहिन काम किन गरियो भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश सिग्देललाई भनिएको छ ।