हेटौंडाः जिल्लाको सुरक्षा र प्रशासनको अगुवाई गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई दुर्गम जिल्लामा कम्तिमा डेढ वर्ष र सुगम जिल्लामा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्था निवामित सेवा ऐन २०४९ को दफा १८ र नियमावली २०५० मा व्यवस्था गरिएको छ । ऐनमा भएको व्यवस्थाअनुसार सुगम जिल्लाको रुपमा मकवानपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीले कम्तिमा पनि दुई वर्ष काम गर्न पाउनुपर्ने हो ।
तर, मकवानपुर जिल्लामा डेढ वर्षको अवधिमा ४ जना प्रमुख जिल्ला अधिकारीको सरुवा भइसकेको छ ।संघीय सरकारले सहसचिव, प्रमुख जिल्ला अधिकारी र उपसचिवहरुको पदस्थापन तथा सरुवा गर्ने क्रममा बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको सरुवा भएको हो । रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने मकवानपुरका प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका भरतमणि पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
२०७६ भदौदेखि हालसम्म ४ जना प्रजिअको सरुवा भएको तथ्यांकले देखाउँछ । करिब एक वर्षसम्म मकवानपुरमा प्रजिअ भएर रहनु भएका आस्मान तामाङको २०७६ भदौ १८ गते सरुवा भएपछिको डेढ वर्षको अवधिमा मकवानपुरमा ४ जना प्रजिअ फेरिएका छन् । २०७६ भदौमा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका प्रेमराज जोशीको करिब ३ महिनामै सरुवा भएको थियो । जोशीको सरुवासँगै नारायणप्रसाद भट्ट २०७६ मंसिर ३ गते मकवानपुरको प्रमुख जिल्ला अधिकारी भएर आउनुभयो । प्रजिअ भट्टको पनि करिब ४ महिनाभित्रै सरुवा भएको थियो ।
भट्टको सरुवापछि दीपकराज नेपाल २०७७ वैशाख ५ मा मकवानपुरको प्रमुख जिल्ला अधिकारी भएर आउनुभयो । नेपाल पनि धेरै समय मकवानपुरमा बस्नु भएन । करिब ६ महिनामै उहँँको पनि सरुवा भएको थियो । २०७७ कात्तिक ३ गते मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिनुभएका गोविन्दप्रसाद रिजालको पनि सरुवा भएको छ । रिजालले करिब ८ महिना मकवानपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभयो ।
बिहीबार सरकारले दुई दर्जनभन्दा बढी सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गर्दा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रिजाललाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २६ जनाको जिम्मेवारी हेरफेर गरिएस“गै गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डे मकवानपुरमा प्रजिअ भएर आउनुहुने भएको हो । कर्मचारीको सरुवाका कारण जनताले प्राप्त गर्नुपर्ने नियमित सेवा, सुविधा भने प्रभावित हुने गरेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत १ महिनादेखि रिक्त छ । फागुन २६ गते हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे सरुवा भएर जानुभएपछि अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएका छैनन् भने अझै को आउने भन्ने निश्चित छैन ।