हेटौंडाः दुर्भल एकसिंगे गैंडाको संख्या नेपालमा ७ सय ५२ पुगेको छ । शनिबार चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१५ को गणनाभन्दा एक सय ७ वटा गैंडाको संख्या बढेर ७ सय ५२ पुगेको जानकारी दिइएको हो ।
गत चैत ९ गते मकवानपुरको मनहरीबाट टोली परिचालित भई सुरु भएको गैंडा गणना शुक्रबार सकिएको हो । गैंडाको बासस्थान रहेको चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १८ दिन लगाएर गैंडा गणना गरिएको थियो ।
पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले गैंडाको सन् २०१५ को गणनामा ६ सय ४५ वटा रहेको गैंडाको संख्या बढेको जानकारी दिनुभयो । सबैभन्दा बढी एकसिंगे गैंडा चितवनमा फेला परेको छ । चितवनमा ६ सय ५ बाट बढेर गैंडाको संख्या ६ सय ९४ पुगेको छ ।
सन् २०१५ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ वटा गैंडा रहेकोमा हाल ३८ पुगेको छ । शुक्लाफाँटामा ८ बाट बढेर १८ पुगेको छ भने पर्सा राष्ट्रिय निकुञ्जमा यसपटक पनि अघिल्लो पटकमा जस्तै ३ वटामात्र गैंडा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।