हेटौंडाः ६४ औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा मंगलबारबाट सेमिफाइनलका खेलहरु सुरु भएको छ । चौथो दिनसम्मको सातौं चरणका खेलपछि सेमिफाइनलमा पुगेका चारजना खेलाडीबीच प्रतिस्पर्धा सुरु भएको हो ।
प्रतियोगिताको पाँचौं दिन सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाका कृष्ण थापा र नोभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका सुदिप तामाङबीचको खेल बराबरीमा टुंगिएको छ । थापाको क्वीन पन्को जवाफमा तामाङले घोडा चालेर खेललाई इण्डियन डिफेन्स ओपनिङमा लगेका हुन् । थापा र तामाङबीचको खेल ३५ औं चालमा फोटोजेनिक पोसिजनको दाबी अनुसार बराबरीमा टुंगिएको हो ।
प्रतियोगितामा दोलखा चेसका मिलन लामाले गजुरमुखी चेस क्लबका राजन सुवेदीलाई हराएका छन् । रोयलोपेज ओपनिङमा मिलनले फ्रिपनको फाइदा उठाउँदै ५२ औं चालमा राजनलाई खेल परित्याग गर्न बाध्य पारेका थिए ।
ललितपुर स्पोर्टस् क्लब र ताम्राकार समाजद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल प्राप्त गर्नेछ भने उपविजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । यसैगरी तृतीय र चौथो हुनेले क्रमशः ३० हजार र २५ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताअन्तर्गत् बुधबार बिहान सेमिफाइनलको दोश्रो खेल र लिगतर्फ आठौं चरणको खेल हुनेछ ।