हेटौंडाः बकैया अध्यक्ष कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलका खेलहरु सम्पन्न भएको छ । सेमिफाइनल खेलबाट वडा नम्बर ५ र वडा नम्बर ३ फाइनल प्रवेश गरेको छ ।
बकैया–४, स्थित जुरेलीमा बुधबार भएकोे पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ५ ले वडा नम्बर ६ लाई १०–२ को फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नम्बर ५ लाई जित दिलाउन नवराज घलानले व्यक्तिगत ६ गोलसहित डबल ह्याट्रिक पूरा गरे । नवराजले खेलको २२, ३०, ४५, ६९, ८४ र ९४ औं मिनेटमा गोल गरे । वडा नम्बर ५ का निर्मल दर्लामीले खेलको ५० औं, उमेश वाइवाले खेलको ५८ औं, विकास वाइवाले खेलको ६९ औं र मिलन कार्कीले खेलको ८५ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच नवराज घलान घोषित भए ।
यस्तै, वडा नम्बर ६ को तर्फबाट छिरिङ भोेलनले खेलको ४८ औं र बगत माझीले खेलको ५४ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए । हारसँगै वडा नम्बर ६ प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा ३ ले वडा नम्बर १० लाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नम्बर ३ लाई जित दिलाउन तारा नेगीले खेलको ३१ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच तारा नेगी नै घोषित भए । हारसँगै वडा नम्बर १० प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबार फाइनल खेल वडा नम्बर ५ र वडा नम्बर ३ बिच हुनेछ । खेल दिउँसो १ बजे हुने बकैया खेलकुद समन्वय समितिका प्रशिक्षक विजय लामाले जानकारी दिनुभयो । बकैया खेलकुद विकास समन्वय समितिको आयोजनामा शुक्रबारबाट जारी प्रतियोगितामा बकैयाका १२ वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।