हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १९ नम्बर वडा समितिले जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिहीबारदेखि आयोजना हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । आयोजक १९ नम्बर वडासहित हेटौंडा उपमहानगरपालिकाका २, ९, ११ र १७ नम्बर वडाको टिम, थाहा नगरपालिका, बकैया र मकवानपुरगढी गााँउपालिकाको महिला भलिबल टिम प्रतियोगितामा सहभागी हुने १९ नम्बर वडा कार्यालयका सचिव बसन्तकुमार सिटौलाले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुबै टिमलाई सान्त्वनास्वरुप नगद ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

१९ नम्बर वडाले टोल विकास संस्थास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । प्रतियागितामा १९ नम्बर वडाका १४ टिमको सहभागिता रहने बताइएको छ । टोल विकास संस्थास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार रुपैयाँ, दोस्रो हुने टिमले १० हजार रुपैयाँ र सेमिफाइनलमा पराजित हुने टिमलाई सान्त्वनास्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ दिइने वडा सचिव सिटौलाले बताउनुभएको छ । हेटौंडा–१९ नेवारपानीस्थित शहरी स्वास्थ्य केन्द्र अगाडिको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले गर्नुहुने वडा अध्यक्ष नरनाथ सुवेदीले जानकारी दिनुभएको छ ।