हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको पाश्र्वचित्र तथा तथ्याङ्कहरुको आधारमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमाका लागि ३ दिने कार्यशाला गरी इन्द्रसरोवरले आवधिक योजना बनाएको हो ।
गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन नेपालको सहजीकरणमा चैत्र १४ गतेदेखि नगरकोटमा सञ्चालन भएको कार्यशाला मंगलबार समापन भएको हो । समापन सत्रमा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जीवन लामाले इन्द्रसरोवर कछुवाकै गतिमा भएपनि पहिलो हुने लक्ष्य बोकेर अघि बढेको बताउनुभयो । निर्वाचित भएलगतै आवधिक योजना निर्माणको प्रक्रिया थालेको भए पनि केही ढिलो भएको अध्यक्ष लामाको भनाइ छ । पालिकाको आवधिक योजना बनाउने इन्द्रसरोवर पहिलो पालिका भएको पनि अध्यक्ष लामाले दावी गर्नुभएको छ ।
समापनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले चौतर्फी आलोचना र समय अभावका बीच पनि चाडवाड र सार्वजनिक बिदा समेत नभनी गाउँपालिकाको ५ वर्षको खाका कोर्न सम्पुर्ण कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवाला प्रतिबद्ध रहेको प्रति धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिकाको विकासमा अघि बढ्दा बढ्दै पनि आवधिक योजना निर्माण कार्य ढिला भएको स्विकार्दै सम्पुर्ण वडाध्यक्षहरुले बनेका योजना बैंकलाई पुर्णता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गाउँपालिका भित्रका जनप्रतिनिधि, राजनीतिज्ञ दल, विद्यालयका प्रधानाध्यापक, पर्यटन, होटल, मत्स्य, डुङ्गा व्यवसायी, संघका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, बाल क्लबका प्रतिनिधि, सञ्चारकर्मी, लगायत गाउँपालिकाको विकाससँग सम्बन्धित सरोकारवाला नागरिक तथा कर्मचारीहरुको सहभागीतामा गाउँपालिकाको ५ वर्षे योजना निर्माण गरिएको हो ।