हेटौंंडाः बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा अफ्रिकन रुट एसोसिएसन, क्यामरुन प्रवेश गरेको छ । सोमबार बिर्तामोड युनाईटेडलाई ४–१ गोलले पराजित गर्दै विदेशी क्लब क्यामरुन सेमिफाइनल प्रवेश गरेको हो । क्यामरुनले अब चैत्र २० गते जाउलाखेल युवा क्लब र नव जनजागृती युवा क्लबको विजेतासँग सेमिफाइलन खेल खेल्नेछ ।

अफ्रिकन टिमलाई जित दिलाउन खेलाडी वासेकले खेलको १९ र ३३ औँ मिनेटमा २ गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । एनजिमीले खेलको ५३ औँ मिनेट र एमबाकोपले ६५ मिनेटमा एक–एक गोल गरे ।

बिर्तामोड युनाइटेडका सुनिल खड्काले खेलको ८६ औँ मिनेटमा एक गोल फर्काएपनि खेललाई बराबरीमा ल्याउन भने सकेनन् । हारसँगै बिर्तामोड प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि आयोजक बागमती खेलकुद विकास समिति र मकवानपुर ११ पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

मंगलबार हिमालयन शेर्पा र बागमती युवा क्लब सर्लाहीबचि सेमिफाइनल प्रवेशको लागि खेल हुनेछ । चैत्र १३ गतेबाट मकवानपुरको बागमती गाउँपालिकाकामा जारी बागमती गोल्डकपको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ८ लाख र उविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।