तालिमको उद्घाटन समारोहमा सहभागी अतिथिहरु ।

हेटौंडाः मकवानपुरका विभिन्न क्याम्पसमा प्राध्यापनरत प्राध्यापकको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा शनिबारबाट शुरु भएको तालिम तीन दिनसम्म चल्ने छ । तालिममा सञ्चार तथा सूचना प्रविधिको प्रयोग र श्रव्यदृश्य सामग्री निर्माणका लागि प्राध्यापकहरुलाई सहजीकरण गरिने मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले बताउनु भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मकवानपुर बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईको आयोजनामा तालिम सञ्चालन गरिएको हो । मकवानपुर बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य अशोक शाक्यको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य राजिव सुवेदी, क्याम्पस प्रमुख डा. शङ्करप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारी, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ मकवानपुर बहुमुखी क्याम्पस इकाइका अध्यक्ष केशव तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम सहायक क्याम्पस प्रमुख डा. यम सिलवालको अध्यक्षता रहेको थियो । तालिममा मकवानपुर जिल्लाका ३० जना प्राध्यापकहरुको सहभागिता रहेको छ । तालिममा डा. दीर्घराज जोशी र कृष्णप्रसाद अधिकारीले सहजीकरण गरिरहनु भएको छ ।