हेटौंडाः नेपालको संघीय शासन प्रणालीमा स्थानीय सरकारलाई शक्तिशाली संरचनाको रुपमा आत्मसात गरिएको छ । तर, मकवानपुरको एउटा स्थानीय सरकार हेटौंडा उपमहानगरपालिका १७ दिनदेखि कार्यकारी प्रमुखविहिनको स्थितिमा छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत को र कहिले आइपुग्ने भन्ने पनि अझै निश्चित छैन । करिव ७ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका नमराज घिमिरे गत फागुन २६ गते सरुवा भई महानिर्देशकको रुपमा यातायात व्यवस्था कार्यालय जानुभएपछि हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृतविहिन बन्दा हेटौंडा उपमहानगरपालिकाको नियमित काम प्रभावित बनेको छ । मंगलबार हेटौंडा उपमहानगर क्षेत्रका सरकारी विद्यालयका शिक्षकहरुले त्रैमासिक तलब भुक्तानीका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाइररहँदा प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण शिक्षकको तलब निकासा गर्न सम्भव नहुने भन्दै मेयर महतसहित कर्मचारीहरु शिक्ष्ँकका समस्या समाधान गर्न असमर्थ रहे ।
उपमहानगरपालिकामा नियमित प्रशासनिक कामकारवाहीका साथै कर्मचारीको तलबदेखि स्थानीय सरकारको सबै किसिमको भुक्तानी दिनुपर्ने काम रोकिएको छ । कार्यकारी अधिकृतको अनुपस्थितिमा हेटौंडा उपमहानगरपालिकाको निमित्त कार्यकारी अधिकृतको रुपमा शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले जिम्मेवारी सम्हालिरहनुभएको छ । तर, निमित्त कार्यकारी अधिकृतले आकस्मिक र गैरआर्थिक सामान्य प्रकृतिका काम मात्रै गर्ने अवस्था रहन्छ । जसका कारण सिंहदरबारको अनुभुति गराउनुपर्ने स्थानीय सरकार निष्क्रिय प्रायः देखिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय सरकारले नजाउ भन्न नसक्ने बताउनुहुन्छ । स्थानीय सरकारले संघीय सरकारको कर्मचारीलाई रोक्न नसक्ने भएकोले तत्कालका लागि उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन बनेको मेयर महतको भनाइ छ । सहसचिवमा बढुवा हुने नयाँ समूहबाट प्रमुख प्रशासकीय अधिकृत आइपुग्ने मेयर महतले विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा नक्सापास, भुक्तानी, योजना सम्झौता गर्ने काम सम्भव नहुने हेटौंडा उपमहानगरपालिकाका एक अधिकारीको भनाइ छ । सहसचिवस्तरका कर्मचारी प्रमुख जिल्ला अधिकारी हुनेदेखि विभिन्न विभागका महानिर्देशकको रुपमा आकर्षक पदमा अवसर प्राप्त गर्ने अवस्था एकातिर रहने र अर्कोतर्फ जनप्रतिनिधिको प्रत्यक्ष निगरानी रहने स्थानीय सरकारको कार्यकारी प्रमुखको रुपमा रहने आकर्षण नहुनुले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइरहने अवस्था रहेको बताइन्छ ।