अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै ।

हेटौंडाः नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले हेटौंडामा पुँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । पुँजी बजारका विविध पक्षको बारेमा लगानीकर्ताहरुलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेप्सेका सञ्चालक लक्ष्मीप्रसाद महर्जनले लगानीकर्तालाई पुँजी बजारसँग सम्बन्धित विविध जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । सञ्चालक महर्जनले शेयर कारोबारमा अनलाइन प्रणालीको सुरुवात भएसँगै कारोबार सहज भएको र लगानीकर्ता बढिरहेको बताउनुभयो ।

अन्तरक्रियामा सहभागीहरु ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले हाल देशभर ३३ लाख व्यक्तिहरुले डीम्याट खाता खोलेर पुँजीबजारमा प्रवेश गरेको जानकारी दिनुभयो । गत वर्षसम्म १७ लाखमात्र डीम्याट खाता रहेकोमा एक वर्षमा दोब्बर भएको भन्दै आचार्यले गत बैशाखसम्म ७ लाख जनाले मेरो सेयरको सुविधा लिएकोमा अहिले २२ लाख पुगेको बताउनुभयो ।

कार्यक्रममा पुँजी बजारमार्फत् पुँजीलाई बचत क्षेत्रबाट अभाव क्षेत्रतर्फ परिचालन गर्न सकिने जानकारी दिँदै साना–ठूला, दीर्घकालीन–अल्पकालीन, व्यक्तिगत–संस्थागत सबै किसिमका लगानीकर्तालाई पुँजी बजारले अवसर प्रदान गर्ने बताइएको थियो ।

कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेललगायत पुँजी बजार सम्बद्ध संस्थाका प्रतिनिधि तथा लगानीकर्ताहरुको सहभागिता थियो ।