फागुन अन्तिम साता सम्पन्न थाहा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता टिमलाई पुरस्कार वितरण गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लाको ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चैत्र २७ गतेदेखि हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा शुक्रबार बसेको प्रतियोगिता निर्देशक समितिको बैठकले मिति निर्धारण गरेको हो । गत वर्ष कोभिडका कारण हुन नसकेको प्रतियोगिता यस बर्ष चैत्र भित्रै सक्न प्रदेश खेलकुद परिषद्बाट निर्देशन आएपछि तयारी सुरु गरिएको खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ ।

बैठकले स्थानीय तहस्तरीय छनौट यही चैत्र २० गते भित्र सम्पन्न गर्न र नतिजा खेलकुद विकास समितिमा पठाउन स्थानीय तहहरुसँग अनुरोध पनि गरेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कवड्डी, सितेरियो कराते, तेक्वान्दो र उसु समावेश गरिने भएको छ । नवौं र दशौं प्रतियोगितामा प्रथम भई बकैयाको जनक माविले शिल्ड जितेको छ । अब यस पटक पनि उसैले जिते शिल्ड पच हुने दाहालले जानकारी दिनुभएको छ । प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने गर्दछ ।

स्थानिय तहबाट एथलेटिक्समा प्रथम र द्वितीय तथा अन्य टीम र समुह गेममा भने प्रथम टिम मात्र जिल्ला खेल्न आउने पनि दाहालले जानकारी दिनुभएको छ । प्रतियोगिता सम्पन्न गर्न तथा विजेता खेलाडीलाई प्रदेशमा सहभागी गराउन करिव १० लाख रुपैयाँ खर्च लाग्ने तर सरकारले चार लाख रुपैयाँ मात्र निकासा गर्ने समितिका अध्यक्ष सानुकुमार लामाले बताउनुभएको छ ।

बैठकमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षा समन्वय इकाई, प्याव्सन, शिक्षक महासंघ, कराते, तेक्वान्दो, उसु, भलिबल तथा एथलेटिक्स संघका प्रतिनिधिहरुको सहभागिता थियो ।