हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०७४ भाद्र ५ गतेको फैसलाले चेक अनादर मुद्धामा एक हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका सिन्धुली कल्पवृक्ष घर भई हाल हेटौंडा १० बस्ने ४० वर्षीय शशी विश्वकर्मालाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको मिति २०७४ माघ ९ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ४ दिन कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मकवानपुरगढी–७, सुकौरा बस्ने २५ वर्षीय पवन लामालाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमाले बताउनुभयो ।
यसैगरी जिल्ला अदालत मकवानपुरको मिति २०५१ जेठ ९ गतेको फैसलाअनुसार सवारी ज्यान मुद्धामा दुई वर्ष ११ महिना २० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी साविकको हाँडीखोला गाविस वडा नं ८ बस्ने ५७ वर्षीय चन्द्रबहादुर राना मगर पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाइएको प्रहरी नायब उपरीक्षक रिमालले जानकरी दिनुभयो ।