हेटौंडाः राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत्को परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ १३ गतेदेखि एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । विगतको भन्दा करिब दुई महिना ढिला गरी यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) हुने भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण गरिएको देशव्यापी लकडाउनका कारण समयमा पठनपाठन हुन नसकेपछि चैतमा अन्त्य हुने शैक्षिक सत्रलाई सरकारले जेठसम्म लम्ब्याएको थियो । सोही अनुसार बोर्डले २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । मंगलबार बसेको बोर्ड बैठकले एसईई परीक्षा सञ्चालनको मिति तय गरेको खकुरेलले बताउनुभयो । बुधबारको गोरखापत्रमा परीक्षाको समयतालिका (रुटिन) प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो ।

एक महिनाअघि सरकारले साविककै शैलीमा एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि बोर्डले परीक्षाको मिति तय गरेको नियन्त्रक खकुरेलले बताउनुभयो । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने संवैधानिक व्यवस्था रहेको भए पनि कक्षा १० को परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने भनिएकोमा यसवर्ष पनि केन्द्रले नै गर्ने भएको हो ।

यसैगरी, कक्षा १२ को अन्तिममा लिइने एसएलसी परीक्षा यसवर्ष जेठ २६ गतेबाट हुने भएको छ । मंगलबार बसेको बोर्ड बैठकले कक्षा १२ को पनि परीक्षाको मिति निर्धारण गर्दै जेठ २६ गतेदेखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण शैक्षिक सत्र लम्बिएका र समयमा पठनपाठन सुरु हुन नसकेका कारण साविकको भन्दा करिब एक महिना ढिला कक्षा १२ को परीक्षा मिति तोकिएको हो । यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो भने कक्षा १२ को परीक्षा बैशाखमा हुने गरेको थियो ।