हेटौंडाः १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्रियाशील पत्रकार मकवानपुरले मकवानपुरका महिला पत्रकारको अवस्थाबारे अन्तरक्रिया गरेको छ । क्रियाशील पत्रकार मकवानपुरका उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामाले महिला पत्रकारलाई निरन्तरता दिन र नयाँ पुस्तालाई प्रेरित गर्न सक्नुपर्ने बताउनुभएको छ । पुरुष पत्रकारहरु उमेर पुगेको अवस्थासम्म पत्रकारितामा सक्रिय हुँदा महिला पत्रकारको सक्रियता किन हुन सकेन भन्ने कुरामा गहन अध्ययन जरुरी रहेको उपमेयर लामाले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहालले आफू सक्षम, दक्ष र अब्बल भए महिलाले गुनासो गर्नुपर्ने अवस्था सिर्जना नहुने बताउनुभयो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले पत्रकारितामा महिलासँगै पुरुषहरु पनि उत्तिकै पीडित भइरहेको जिकिर गर्दै समस्यास“ग जुध्न सक्नुपर्ने बताउनुभयो । पत्रकारले समाचारमात्र सम्प्रेषण गर्ने होइन, आफ्नो समाचार सामग्रीको प्रस्तुतिमा आफ्नो क्षमता देखाउनुपर्ने उहाँले बताउनुभयो ।