हेटौंडाः ईन्द्रसरोवर गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका माध्यमिक विद्यालय, फाखेलले हात पारेको छ । बिहीबारदेखि गाउँपालिकास्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा सहभागी ६ वटा विद्यालयमध्ये कालिकाले उपाधि जितेको हो ।
प्रतियोगितामा मार्चपास, छात्र–छात्रा भलिबल, १०० मिटर र २०० मिटर दौडलगायत एथलेटिक्सतर्फका खेलहरु सञ्चालन भएका थिए । छात्रतर्फको भलिबलमा कालिका मावि प्रथम, पञ्चकन्या मावि द्वितीय र सरस्वती बालबोधिनी मावि तृतीय भएका छन् । छात्रातर्फको भलिबलमा कालिका प्रथम, कालिदेवी मावि द्वितीय र सरस्वती बालबोधिनी तृतीय भएका छन् ।
यस्तै छात्रतर्फको १०० मिटर दौडमा कालिकाका रुपेश बल प्रथम, महाचुनी माविका सागर बलामी द्वितीय र कालिदेवीका विजय रुम्बा तृतीय भएका छन् भने छात्रातर्फको १०० मिटर दौडमा बत्सलादेवीकी सुस्मिता नगरकोटी प्रथम, सरस्वती बालबोधिनीकी कृतिका गिरी द्वितीय र पञ्चकन्याकी रुपा थापा मगर तृतीय भएका छन् । २०० मिटर दौडमा छात्रतर्फ पञ्चकन्याका शुकलाल वाइवा प्रथम, सरस्वती बालबोधिनीका विशाल छुमी द्वितीय र कालिकाका प्रविण लामा तृतीय भएका छन् भने छात्रातर्फ बत्सलादेवीका सुस्मिता नगरकोटी प्रथम, महाचुनीका आकृति बलामी द्वितीय र कालिकाका रञ्जिता तितुङ तृतीय भएका छन् ।
छात्रा सटपुटतर्फ बत्सलादेवीकी सुस्मिता नगरकोटी, कालीदेवीकी शान्ति लामा र महाचुनीकी अञ्जली थिङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने छात्रतर्फ पञ्चकन्याका नवीन थिङ, बत्सलादेवीका धनराज वाइवा र कालीदेवीका आइते लामा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । लङजम्पतर्फ छात्रामा महाचुनीकी आकृती बलामी प्रथम, बत्सलाकी भावना अधिकारी द्वितीय र पञ्चकन्याकप् रुपा थापा मगर तृतीय भए भने छात्रतर्फ पञ्चकन्याका शुकलाल वाइवा प्रथम, कालिकाका मणिरत्न लामा द्वितीय र महाचुनीका सागर बलामी तृतीय भएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष जीवन लामाले गाउँपालिकासँग समय, बजेट कम हुँदाहुँदै पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोे बताउनुभयो । प्रतियोगिताको समापनमा गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामा, वडा नं २ का वडा अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का वडा अध्यक्ष चिरञ्जीवी पौडेल, वडा नं. ४ का वडा अध्यक्ष धनवीर स्याङ्तान, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीलगायतको आतिथ्यता रहेको थियो ।