हेटौंडाः मकवानपुर होटल एसोसिएसनको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष शंकरलाल श्रेष्ठको अध्यक्षता तथा होटल व्यवसायी महासंघका अध्यक्ष हीराध्वज शाहको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
साधारणसभामा संघका महासचिव विष्णुगोपाल महर्जनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धनबहादुर पौडेल (कल्याण) ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शाहले देशभर होटल व्यवसायमा ८० हजार भन्दा बढी व्यवसायी रहेको र छ लाखले प्रत्यक्ष रोजगारी पाइरहेको जानकारी दिनुभयो । होटल व्यवसायीले वार्षिक १९ अर्ब रुपैयाँ सरकारलाई राजश्व बुझाउने गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष शाहले व्यवसायीको पक्षमा भने सरकारले उल्लेखनीय कार्य गर्न नसकेको भन्दै दुख व्यक्त गर्नुभएको छ ।
साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मकवानपुर होटल एसोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठले होटल व्यवसायीलाई हेर्ने दृष्टिकोण गलत भएको दावी गर्नुभयो । केही व्यवसायीका कमजोरी भए पनि सवै व्यवसायीलाई स्थानीय प्रशासन र प्रहरीले बेला बेलामा दुख दिने गरेको गुनासो गर्नुभयो । साधारणसभाको अवसरमा मकवानपुर होटल एसोसिएसनको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा उद्योगतर्फबाट दीपक सिवाकोटीलाई उम्मेद्वार बनाउने निर्णय समेत गरिएको छ । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, होटल एसोसिएसन बागमती प्रदेश समितिका अध्यक्ष सन्तोष उप्रेती, मकवानपुर होटल एसोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्माको पनि उपस्थिति रहेको थियो ।