हेटौंडाः साविक विजेता एफसी मुण्डियाल सिराहामा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमीफाइनल खेलमा काठमाडौंको चर्चब्वाइज क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एफसी मुण्डियाल दोस्रो संस्करणको मेयर कपमा पनि उपाधि नजिक पुगेको छ ।
निर्धारित समय १–१ गोलको बराबरी भएको थियो । एफसी मुण्डियालले खेल सुरु भएको ११ औं मिनेटमै गोल गर्दै अग्रता लिए पनि निर्धारित समयमा जित निकाल्न सकेन । मुण्डियालका लागि ११ औं मिनेटमा युसुफ थपलियाले गोल गरेका थिए । पहिलो हाफमै चर्चब्वाइजले बराबरी गोल फर्कायो ।
दोस्रो हाफमा दुबै पक्षबाट गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । टाइब्रेकरमा भने एफसी मुण्डियालले ३–२ गोलअन्तरले जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । म्यान अफ द म्याच एफसी मुण्डियालका गोलकिपर दिलमणि चौधरी घोषित भए ।