हेटौंडाः हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पतालमा जोर्नीको महत्वपूर्ण प्रत्यारोपण गरिएको छ । एक महिनाअघि मात्रै ट्रमा सेन्टरको रुपमा नयाँ भवनमा सेवा विस्तार गरेको सहकारी अस्पतालले फागुन ५ गते बुधबार ७० वर्षीय वृद्धाको हिपको सिंगो जोर्नी नै प्रत्यारोपण गरिएको हो ।
हाडजोर्नी विशेषज्ञ डा. सुन्दर कुमार श्रेष्ठ, एनेस्थेसिया डा. सुवास बाबु लामिछानेसहितको स्वास्थ्यकर्मीले करिब ४ घण्टाको शल्यक्रियापछि हेटौंडा–१ की ७० वर्षीया बालकुमारी थापाको हिपको सिंगो जोर्नी प्रत्यारोपण गरिएको हो । डा. श्रेष्ठका अनुसार उमेर बढ्दै जाँदा जोर्नीहरु खिइँदै जाने र जटिल समस्या भए प्रत्यारोपण नै गर्न सकिन्छ । धातु र प्लास्टिकले बनाइएका कृत्रिम जोर्नीले १० देखि १५ वर्ष काम गर्छ । मकवानपुर जिल्लामै पहिलो पटक जोर्नी प्रत्यारोपणको कार्य गरिएको डा. श्रेष्ठको भनाइ छ ।
काठमाडौं र चितवनमा जोर्नी प्रत्यारोपणको विषय सरल बन्दै गएको सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि यस किसिमको सेवा सुरुवात हुनु उपलब्धीमूलक भएको डा. श्रेष्ठले बताउनुभएको छ । शल्यक्रिया गरेर जोर्नी प्रत्यारोपण गरेको विरामीको अवस्था सहज बन्दै गएको र केही दिनपछि सहज हिँड्डुल गर्न सक्ने डा. श्रेष्ठको भनाइ छ । हेटौंडामै जोर्नी प्रत्यारोपणको सेवा सस्तो र मकवानपुर जिल्लावासीका लागि सहज हुने उहाँले दावी गर्नुभयो । मानिसको शरीरको विभिन्न भागका जोर्नी मध्ये हिपको जोर्नीले बढी भार बहन गर्नुपर्ने भएकोले बढी खिइने चिकित्सकको भनाइ छ ।