हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती प्रदेश फुटबल संघको तदर्थ समिति अध्यक्षमा मकवानपुरका राजेन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । केही समयअघि प्रदेशस्तरीय भेलाको आयोजना गरेर समिति गठन गर्न लाग्दा ११ जिल्लाबाट अध्यक्षका आकांक्षी देखिएपछि बागमती प्रदेश संघ गठन हुन सकेको थिएन । बिहीबार एन्फाले मकवानपुरका श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।
एन्फाले प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा नुवाकोटका दीपक चित्रकारलाई नियुक्त गरेको छ भने उपाध्यक्षमा काभ्रेका निरज श्रेष्ठ, ललितपुरका सहदेव व्यञ्जनकार, धादिङका मनोज गोदारलाई उपाध्यक्ष नियुक्त गरेको छ । यस्तै दोलखाका गोविन्द श्रेष्ठ र मकवानपुरका दिपेन्द्र ढकाललाई सचिवमा नियुक्त गर्दा एन्फाले चितवनका श्रीकृष्ण कार्कीलाई कोषाध्यक्ष नियुक्त गरेको छ । धादिङका दिवस सागर श्रेष्ठलाई सह–कोषाध्यक्ष नियुक्त गरेको छ ।
मकवानपुरका सुदीप राजबाहक, लवराज ठकुरी, सिन्धुलीका लक्षु देवकोटा, दोलखाका बाबुराजा श्रेष्ठ, काठमाडौंका अजब श्रेष्ठ, ललितपुरका बाबुकृष्ण महर्जन, भक्तपुरका किशोर हेक्का, चितवनका अनिल शाक्य र नुवाकोटका जीवन लामालाई सदस्यमा नियुक्त गरेको छ ।