हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा महिला जागरण समूह गठन गरिएको छ । उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाले उपमहानगरका १९ वटै वडामा महिला जागरण समूह गठन गरेको हो । १ नम्बर वडाबाट सुरु गरिएको महिला जागरण समूह गठनको कार्य आइतबार २ नम्बर वडामा तारा ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेसगै सवै वडामा जागरण समूह गठन कार्य पूरा भएको कार्यक्रम संयोजक गोपिनी गौतमले जानकारी दिनुभएको छ । अब उपमहानगरपालिकाले नगरस्तरीय जागरण महिला सञ्जाल गठन गर्ने जनाएको छ ।
वडामा रहेका टोल विकास संस्था, आमा समूह, एकल महिला, दलित महिला र स्वास्थ्य स्वायम्सेविकाको उपस्थितिमा महिला जागरण समूह गठन गरिएको को हो । महिलाको चाहना, इच्छा र भावनालाई कदर गर्दै महिलाका लागि महिला अघि बढौं भन्ने उद्देश्यले महिला जागरण समूह गठन गरिएको हो । महिला जागरण समूह गठनका लागि वडामा आयोजना गरिएको अधिकांश भेलामा उपमेयर मीनाकुमारी लामा, वडाका महिला जनप्रतिनिधि, महिला तथा बालबालिका विकास महाशाखाकी प्रमुख विष्णु लामिछानेको उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकाले महिला जागरण समूह गठन तथा सञ्चालन कार्यविधि–२०७७ जारी गरेर समूह गठनको कार्य सुरु गरेको हो । महिलाको हकहित र अधिकार प्रवद्र्धन गर्न, महिलामाथि हुने विभेदविरुद्ध अभियान सञ्चालन गर्न, आर्थिक सामाजिक एवम् शैक्षिक रुपमा पछाडि परेका महिलाहरुका लागि क्षमता अभिवृछिका कार्यक्रम सञ्चालन गर्न वडा तथा नगरस्तरमा महिला जागरण समूह गठन गरिएको हो । यस्तै वडा तथा नगरपालिका र अन्य सरोकारवाला संघ, संस्थाहरुसँग समन्वय गरी महिला लक्षित कार्यक्रम सञ्चालन गर्न, सामाजिक विकास एवम् सामाजिक परिचालनका क्षेत्रमा महिलालाई परिचालन गर्न र नगरक्षेत्रमा महिलालाई संगठित गरी सशक्तीकरण गर्न जागरण समूह गठन गरिएको हो ।