हेटौंडाः तामाङ समुदायले आज शुक्रबार २८५७ औं सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछारलाई नयाँ वर्षको आरम्भ तथा सांस्कृतिक पर्वको रुपमा मनाउने गरेका तामाङ समुदायले यसवर्ष (लाङ ल्हो) गाई वर्षको रुपमा सोनाम ल्होछार मनाउँदैछन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ । सोही दिन चीनमा समेत नयाँ वर्ष आरम्भ हुन्छ । ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् र ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । यसैले ल्होछारलाई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षमा प्रवेश गर्ने दिनको रुपमा लिइने गरिन्छ ।

तामाङ समुदायले परम्परागत र सांस्कृतिक महत्वका साथ सोनाम ल्होछार मनाउने गरेको पाइन्छ । सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने परम्परा छ । ल्होछार पर्वको अवसरमा आफन्तहरु जमघट भएर रमाइलो गर्ने, मान्यजनबाट आशीर्वाद लिने र मिठा परिकार खाने गरिन्छ । पछिल्लो समय ल्होछारको अवसरमा सामूहिकरुपमा सांस्कृतिक कार्यक्रम गर्ने क्रम बढ्दै गएको छ ।

आज मकवानपुरको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित सोनाम ल्होछार पर्व मनाइँदैछ । सोनाम ल्होछार नेपालमा मात्र नभएर चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्यान्ड, भुटान, दक्षिण कोरिया, जापानलगायत बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेको देशहरुमा मनाइने गरिन्छ ।