बकैयाः मकवानपुरको बकैया गाउँपालिकालाई बिहीबार बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । बकैया–४ को जुरेली चौरमा भएको कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बकैयालाई बालमैत्री गाउँपालिका घोषणा गर्नुभएको हो ।

बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै बालमैत्री घोषणाका लागि तोकिएका सूचक हासिल गरेको बकैया गाउँपालिकालाई केही दिनअघि जिल्ला समन्वय समिति मकवानपुरले बालमैत्री स्थानीय तह घोषणाको अनुमति दिएको थियो । देशका ७ सय ५३ स्थानीय तहमध्ये बालमैत्री घोषणा गरिएको बकैया दोस्रो स्थानीय तह हो । यसअघि मकवानपुरकै मनहरी गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको थियो ।

बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हालसम्म बालमैत्री घोषित हुने दुईवटा स्थानीय तह मकवानपुरकै भएकोमा हामी सबैले गर्व महसुस गर्नपाएको बताउनुभयो । बकैया देशमै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएकोमा बधाई दिँदै मुख्यमन्त्री पौडेलले जसरी बालमैत्री घोषणा गर्न गाउँपालिकाको टिम सक्रिय भएको छ त्यसरी नै यसलाई निरन्तरता दिन जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गर्नुभयो ।

बालमैत्री घोषणाको सार्थकताका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई घरपरिवारदेखि सबैतिर उत्तिकै ध्यान दिनुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो । बालमैत्री स्थानीय शासन केबल घोषणामा सिमित हुन नदिन गाउँपालिकाले बालमैत्री सूचकहरुको अवस्थालाई भविष्यमा पनि निरन्तर निगरानी राख्नसमेत उहाँले आग्रह गर्नुभयो । बालमैत्री घोषणा कार्यक्रमको प्रमुख अतिथिसमेत बालबालिकालाई बनाउन सुझाव दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बालबालिकाका लागि गरेका काममा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले बागमती प्रदेशलाई नै बालमैत्री बनाउने तयारीमा प्रदेश सरकार क्रियाशील बनिरहेको बताउँदै बालमैत्री स्थानीय तह घोषणाका लागि तोकिएका सूचक पूरा गराउन प्रदेश सरकारले स्थानीय तहलाई सहयोग गर्ने बताउनुभयो ।

बालमैत्री घोषणा कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले नेपालकै दोस्रो बालमैत्री घोषणा गर्न सफल भएकोमा बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गरिनुलाई मात्र सफलताको रुपमा लिन नहुने, घोषणाअनुसार बालमैत्री कायम राख्न निरन्तर लागि पर्न गाउँपालिकाका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले बालबालिकालाई घरबाटै अनुशासित तथा स्वस्थ बनाउन सकेमा भविष्यमा समाजलाई निर्देशन गर्नसक्ने भएकाले समाजका अगुवाहरुले बालबालिकालाई असल कुरा सिकाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले अनुगमन गर्दा बालमैत्री घोषणाका लागि तोकिएका सबै सूचक पूरा गरेकाले बकैयालाई बालमैत्री घोषणा गर्ने अनुमति प्रदान गरेको बताउनुभयो । उहाँले बालमैत्री घोषणासँगै आगामी दिनमा पनि बालमैत्री सूचकहरुलाई कायम राख्न आग्रह गर्नुभयो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा सम्पन्न बालमैत्री घोषणा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ र जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानलगायतको उपस्थिति थियो । बालमैत्री घोषणाका लागि आवश्यक ३९ वटा सूचकमध्ये बकैया गाउँपालिकाले १९ वटा सूचकहरु शतप्रतिशत र २० वटा सूचकहरु ९८ प्रतिशत पूरा गरेकाले बालमैत्री स्थानीय तह घोषणा गरिएको हो ।