हेटौंडाः अखिल नेपाल महिला संघ (अनेमसंघ) ले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटना न्यूनीकरण तथा राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनी कारबाहीको माग गर्दै संघीय सरकारका गृहमन्त्रीलाई ज्ञापनपत्र र बैतडीमा १७ वर्षीया किशोरीको बलात्कारपछि गरिएको हत्यासम्बन्धमा बागमती प्रदेशको मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत् गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गम्भीररुपमा महिलामाथि हिंसाका घटनाहरु भइरहेको हुँदा त्यस्ता हिंसा गर्ने पीडकलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ । नेपालको संविधानको धारा ३८ मा महिलाविरुद्ध कुनै प्रकारको हिंसाजन्य कार्य र शोषण गरिनेछैन भन्ने मौलिक हकको पालनामा नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सम्मानित राष्ट्रपतिमाथि विभिन्न सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट अत्यन्त अमर्यादित, अमानवीय ढंगबाट झुठा लाञ्छना लगाउने, गालीगलौज गर्ने, अभद्र व्यवहार गर्ने, व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउनेजस्ता घृणित क्रियाकलापको भत्र्सना गर्दै त्यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ र अनुसन्धान गरी कानुनी कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ । गत माघ १६ गते नेकपाकी निवर्तमान सांसद रामकुमारी झाँक्रीले गोरखा जिल्लाको एक राजनीतिक भेलामा राष्ट्रपतिविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको भत्र्सना गर्दै ज्ञापनपत्रमा राष्ट्रपति संविधानको संरक्षक भएको र उक्त संस्थाको मान, मर्यादा र गरिमाको संरक्षण गर्ने दायित्व नेपाल सरकारको भएकाले राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने व्यक्तिलाई तुरुन्त पक्राउ गरी प्रचलित कानुनबमोजिम सजाय गर्न माग गरिएको हो ।
यसैगरी, सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको गत माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको घटनाप्रति अनेमसंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको छानविन गरी अपराधमा संलग्नलाई यथाशिघ्र कानुनी कारबाहीका लागि माग गर्दैै बागमती प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
बैतडीलगायत धेरै पहाडी र हिमाली क्षेत्रका विद्यार्थीहरु विद्यालय जान लामो समय लाग्ने र जंगलको बाटो हिँड्नुपर्ने बाध्यता रहेकाले बालिका र किशोरी जोखिममा पर्ने र दुःखद् घटनाको शिकार बन्नुपरेको अवस्था अन्त्यका लागि दिगो समाधान खोज्नु आवश्यक रहेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय मकवानपुर जिल्लाको फापरबारी, हेटौंडा र मकवानपुरगढीमा भएका बलात्कार तथा रहस्यमय हत्या, किशोरीमाथि हुने एसिड आक्रमणलगायतका घटनाहरु बढिरहेको अवगत गराउँदै ध्यानाकर्षणपत्रमा उक्त घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको माग गरिएको छ ।
ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्रमा अनेमसंघ मकवानपुरकी संयोजक सीता पौडेलद्वारा हस्ताक्षर गरिएको छ । ज्ञापनपत्र बुझाउन बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ र भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना पनि सहभागी हुनुहुन्थ्यो ।