सांकेतिक तस्विर ।

हेटौंडाः जिल्ला अदालत मकवानपुरले सवारी ज्यान र विवाहसम्बन्धी मुद्दामा दोषी ठहर गरी कैद सजाय तथा जरिवाना तोकेर कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्दामा १३ दिन कैद भुक्तान गर्न बाँकी रहेका हेटौंडा–१० का २५ वर्षीय प्रकाश रौनियार र एक दिन कैद सजाय तथा दुई हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी हेटौंडा–१८ का ३५ वर्षीय उमेश थापालाई सोमबार पक्राउ गरेको छ । प्रकाश रौनियारलाई हेटौंडा–१० बाट र उमेश थापालाई हेटौंडा–१८ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उमेशलाई जिल्ला अदालतले २०६७ साल साउन २५ गते जिल्ला अदालतले सजाय सुनाएको थियो भने प्रकाशलाई सजाय सुनाएको मिति प्रहरीले उल्लेख गरेको छैन ।

यस्तै विवाह सम्बन्धी मुद्दामा ११ महिना ६ दिन कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय भुक्तान गर्न बाँकी मकवानपुरगढी गाउँपालिका–२ का ३६ वर्षीय डोरमणि दाहाललाई पनि प्रहरी पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले डोरमणिविरुद्ध २०७५ साल कार्तिक १२ गते सजाय सुनाएको थियो । पक्राउ गरिएकाहरुलाई कैद तथा जरिवानाभुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।