स्रोत नखुलेको रकमबारे जानकारी दिँदै बारा प्रहरी ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बारा जिल्लाको फेटा गाउँपालिका–५ जोतपुरटोलस्थित दसगजा क्षेत्र नजिकै आइतबार दिउँसो साढे २ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर (बीआर ०५ वाई ६४१७) को प्लाटिना मोटरसाइकलमा सवार दुईजनालाई प्रहरीले सुरक्षाजाँच गर्दा स्रोत नखुलेको रकम बरामद गरेको हो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुईजना भारतीय नागरिक ।

अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ । मोटरसाइकल चालक भारतको बिहार प्रदेश मोतिहारी जिल्लाका २६ वर्षीय अरविन्द महतो र १४ वर्षीय नाबालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतीय नागरिकको साथबाट एक हजार दरका एक हजार नौ सय २३ थान, पाँच सय दरका पाँच हजार सात सय चार थान, एक सय दरका एक हजार दुईसय थान, र ५० रुपैयाँ दरका एक सय थान नोट बरामद भएको प्रहरीले उल्लेख गरेको छ । स्रोत नखुलेको बरामद रकम, रकम ओसारपसार गर्न प्रयोग गरेको मोटरसाइकलसहित पक्राउ परेका दुबैजनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको बारा प्रहरीले जनाएको छ ।