हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी स्वरुप गाउँपालिकाका वडा अध्यक्ष, गाउँपालिकामा रहेका विद्यालय प्रधानाध्यापक, स्वास्थ्य शाखाका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि, सुरक्षा निकाय, टोल विकास संस्थाका प्रतिनिधिका लागि दुई दिवसीय अभिमुखीकरण कार्यक्रम भएको छ । सोमबार र मंगलबार दुई दिन अभिमुखीकरण कार्यक्रम भएको हो ।
अभिमुखीकरणको समापनको अवसरमा सहभागीले संयुक्त हस्ताक्षर गरी सामूहिक प्रतिवद्धता समेत व्यक्त गरेका थिए । अभिमुखीकरणमा विष्णु प्रसाद चौवे ‘चतुर्वेदी’ले सहजीकरण गर्नुभएको थियो । अभिमुखीकरणको समापनको अवसरमा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइले यहि २०७८ जेठ मसान्तसम्म वडा नं ३, ५, ६ लाई बालमैत्री वडा र पूरै गाउँपालिकालाई २०७८ मंसिर मसान्तसम्ममा बालमैत्री पालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सबैको साथ र सहयोगको अपेक्षा रहेको र सबै मिलेर हातेमालो गर्दै गाउँपालिकालाई बालमैत्री घोषणा गर्नुपर्ने बताउनुभयो ।
समापनको अवसरमा शिक्षकहरुको तर्फबाट जनता माविको प्रधानाध्यापक होम बहादुर नेपाली, वडा अध्यक्षहरुको तर्फबाट सामाजिक विकास संयोजक समेत रहनुभएका ५ नम्बर वडा अध्यक्ष जित बहादुर घिमिरे, स्वास्थ्य प्रमुख ध्रुव प्रसाद लामिछानेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।