हेटौंडाः हेटौंडा–२, स्थित नारायणी अञ्चल आयूर्वेद औषधालयमा सेवा लिनेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा आयूर्वेद औषधालयमा सेवा लिनेहरुको संख्यमा वृद्धि भएको हो ।
गत आर्थिक वर्ष २०७६/७७ मा ७ हजार ९ सय ९० जनाले औषधालयमा पुगेर सेवा लिएका थिए । चालु वर्षको ६ महिनाको अवधिमा ५ हजार बढीले आयूर्वेद औषधालको सेवा लिइसकेको नारायणी अञ्चल आयूर्वेद औषधालयकी प्रमुख डा. सृष्टि श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको पुस महिनामा मात्र अञ्चल आयूर्वेद औषधालयबाट १ हजार ९६ जनाले सेवा लिएका छन् । गत वर्षको पुस महिनामा सेवा लिनेको संख्या ८ सय ७४ जना रहेको थियो ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयूर्वेदिक औषधि प्रयोग गर्नेहरुको संख्यामा उल्लेख वृद्धि भएको डा. श्रेष्ठले बताउनुभयो । उहाँले कोरोना भाइरसको संक्रमण व्यापक रहेको समयमा विभिन्न प्रकारका रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयूर्वेदिक औषधिहरु निःशुल्क वितरण गरेको जानकारी दिनुभयो ।
अञ्चल आयूर्वेदिक औषधालय हेटौंडाले हालसम्म बहिरंग सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी, क्षारसूत्र सेवा, पूर्वकर्म÷पञ्चकर्म सेवा, योग सेवालगायत निःशुल्क औषधि वितरण गर्नुका साथै परामर्श सेवा पनि दिँदै आएको छ । अञ्चल आयुर्वेद औषधालयले हेटौंडाको चुरियामाई, हटिया र राक्सिराङको काँकडा आयूर्वेद औषधालयबाट पनि सेवा दिइरहेको छ ।
चालु आर्थिक वर्षमा थाहा नगरबाट पनि औषधालयले सेवा विस्तार गरेको छ । नागरिक आरोग्य सेवा केन्द्रको रुपमा थाहानगर–३ मा सेवा केन्द्रको स्थापना गरिसकेको छ । बागमती गाउँपालिकाको वडा नम्बर ४ र बकैया गाउँपालिकाको वडा नम्बर ३, हात्तीसुँडेबाट पनि आरोग्य सेवा केन्द्रमार्फत् सेवा सुरु गरिएको छ । यस्तै, कैलाश गाउँपालिका वडा नम्बर ३ कालिकाटारमा माघ २३ गते सेवा केन्द्रको उद्घाटन गरिने बताइएको छ ।
सेवा केन्द्रहरुबाट नेपाल सरकारले तोकेको २३ प्रकारका आयूर्वेदिक औषधिहरु निःशुल्क वितरण गरिने डा. श्रेष्ठले बताउनुभयो । सेवा विस्तार भएसँगै मकवानपुरका सबै स्थानीय तहका नागरिकहरुमा आयूर्वेद औषधालयको पहुँच पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।