हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतनको २० औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । भेलामा प्रमूख अतिथि हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमूख गांगाधर रिमालले सामुदायिक विद्यालय भौतिक पूर्वाधारले सम्पन्न र शिक्षामा प्रतिष्पर्धा गर्न सक्षम रहेको हुँदा निजी विद्यालयको हिसाबले समय सापेक्ष अनुसार चल्नुको साथै व्यवहारिक ज्ञानलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । यदि नविनतम् ढङ्गले अगाडि बढ्न नसके राम्रो शिक्षा दिइरहेका विद्यालयले भावी दिनमा विद्यार्थी आकर्षित गर्न नसक्ने रिमालको भनाइ थियो ।
विद्यालय व्यवस्थान समितिका अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा अभिभावक भेला भएको हो । अभिभावक भेलाको अवसरमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु, अनुशासित र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । पूर्व प्रिन्सीपल किशोर पराजुलीलाई नगद ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरिएको छ । वर्षमा उत्कृष्ट अभिभावक, शिक्षक, कर्मचारी, पत्रकारलाई सम्मान गरिएको छ । पूर्व विद्यार्थी अदिती गजुरेललाई त्रिभुवन विश्वविद्यालयबाट इलेक्ट्रिकल ईन्जिनियरतर्फ प्रथम स्थान हासिल गरेको भन्दै सम्मान गरिएको थियो ।
अभिभावक भेलामा ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जीधराज ढकाल, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष केशवबहादुर श्रेष्ठ र पूर्वअध्यक्ष पिताम्बर बास्तोलाको पनि उपस्थिति रहेको थियो । सहकारीमार्फत सञ्चालित विद्यालयमा एक हजार चार सय ५० जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालय प्रिन्सीपल ईश्वरप्रसाद लामिछानेले जानकारी दिनुभएको छ ।