हेटौंडाः किरात देवास राई उत्थान समाज नेपालले शुक्रबार हेटौंडामा देवास राई भाषा लेखनशैली र देवास राई कृति संगालोको विमोचन गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली लिपिमा लेखिएको देवास राई भाषासँग सम्बन्धी दुई पुस्तकको पहिलो संस्करणकोे विमोचन गर्नुभएको हो ।
मुख्यमन्त्री पौडेलले पुस्तक विमोचन गर्नुहुँदै मानिसको सबैभन्दा बढी महत्वपूर्ण कुराहरुमा भाषा र संस्कृति पनि भएको बताउनुभएको छ । नेपालको संविधानले नै सबैको भाषा र संस्कृतिको संरक्षण गनुपर्छ भनेको भन्दै आफ्नो जाति, भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न सक्नुपर्ने बताउनुभयो । नेपाल सानो देश भएपनि धेरै भाषाभाषीहरु मिलेर बसेको भन्दै किराती भाषाको सङ्ग्रहालय हेटौंडामा निर्माण गर्न लागेकाले प्रदेश सरकारले त्यसमा सहयोग गर्ने मुख्यमन्त्री पौडेलले प्रतिवद्धता जनाउनुभएको छ ।
पुस्तक विमोचन कार्यक्रममा संविधानसभा सदस्य प्रह्लाद लामिछानेले विमोचन भएको कृति अन्तिम बन्न नदिई लेखनलाई थप निरन्तरता दिन आग्रह गर्नुभयो । आगामी दिनमा आफ्नो भाषामा अन्य कृति थपिँदै जानुपर्ने भन्दै पहिलो कृतिलाई अन्तिम बन्न नदिन आग्रह गर्नुभयो । नेपालको संविधान समावेशी संविधान भएको तथा धेरै अधिकारहरु समेटिएको संविधान भएको भन्दै कार्यान्वयनमा केहि जटिलता आउने गरेको लामिछानेले बताउनुभयो । धेरै संख्यामा जातजाति र भाषाहरु रहेपनि राज्यले राई भाषाकोे संरक्षण गर्नुपर्ने बताउनुभयो । लोपोन्मुख जातिहरुको संरक्षण गर्न राज्यले अलि जोड गर्नुपर्ने भन्दै भाषाको संरक्षण हुन नसकेमा जातजातिहरु हराउँदै जाने लामिछानेले बताउनुभयो ।
किरात देवास उत्थान समाज नेपालका पूर्वअध्यक्ष शंकर राईले पहिलो संस्करणमा छापिएको यो पुस्तक ऐतिहासिक भएको बताउनुभयो । न्यून संख्यामा रहेका राईहरु राज्यको उच्च तहमा नपुगेको तथा राजनीतिमा पनि समावेश नभएको उहाँले बताउनुभयो । सोझासाझा राईलाई चुनावको बेला मात्रै नेताहरुले सम्झने भन्दै वडा अध्यक्षसम्म पनि उठ्ने अधिकार राई किरातहरुले नपाएको उहाँले बताउनुभयो । उहाँले राई किरातहरुलाई अगाडि बढाउन राज्यले सोच्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप बिष्टले भाषाको संरक्षण गर्न नसके जातजातिहरु लोप हुँदै जाने बताउनुभयो । नेपालमा १ सय २३ भाषाहरु बोलिने भएपनि किराती भाषा लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको संरक्षण र जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भाषा संस्कृतिको खोजी गरेर पुस्तक प्रकाशन गरेको भन्दै इतिहासमा पनि यो रहिरहने बताउनुभयो ।
किरात देवास उत्थान समाज नेपालको केन्द्रीय अध्यक्ष असमान राईको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रमोदकुमार राईलगायतले मन्तव्य राख्नुभएको थियो । हेटौंडा–३ मा किराती भाषाको छुट्टै सङ्ग्रहालय स्थापना गर्ने कामको सुरुवात गर्ने अन्तिम तयारी भएको उहाँले बताउनुभएको थियो ।