माघ २९ गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गर्न बसेको प्रतिष्ठानको बैठक । फाइल तस्वीर ।

हेटौंडाः नगर कप भलिबल प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १४ मा हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र सम्बन्धित वडाको खेलकुद समितिको संयुक्त आयोजनामा नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पुरुष भलिबल प्रतियोगिता हुनेछ भने वडा नम्बर १४ मा महिला भलिबल हुनेछ ।

वडा नम्बर १२ मा हुने पुरुष भलिबल प्रतियोगिता यही माघ २९ गते सुरु भई फागुन १ गते सकिनेछ । वडा नम्बर १४ मा हुने महिला भलिबल प्रतियोगिताको मिति भने तय गरिएको छैन । बुधबार प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले वडास्थित खेलकुद समितिसँग सहकार्य गरी संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो । प्रतियोगिता आयोजनाका लागि उपमहानगरपालिकाले दुई लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

नगर कप प्रतियोगिता भएकोले नगरको वडा वडामै पुगेर कार्यक्रम आयोजना गर्दा भलिबल खेलमा युवा पुस्ताको रुचि बढाउन सकिने अपेक्षासहित इच्छुक वडासँग सहकार्यको प्रयास भएको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताउनुभएको छ । साविक विजेता १२ नम्बर वडाले पुरुष भलिबल प्रतियोगितामा सहकार्य गर्न इच्छा देखाएको र महिला भलिबलका लागि १४ नम्बर वडाले इच्छा देखाएअनुसार यो वर्षलाई ती दुई वडासँग सहकार्य गर्ने निश्चित भएको विष्टको भनाइ छ । उहाले आगामी वर्षदेखि उपाधि विजेता वडालाई नै सहकार्यका लागि प्रेरित गर्दै लैजाने पनि बताउनुभएको छ ।

गत वर्ष पुरुष भलिबलको उपाधि १२ नम्बर वडाले जितेको थियो भने महिला भलिबलको उपाधि १९ नम्बर वडाले जितेको थियो । नगर कप भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ५० हजार र ३० हजार रुपैयाँ रहेको छ । सेमीफाइनलमा पराजित हुने टिमलाई १० हजार रुपैयाँ पाउनेछ । महिला र पुरुष दुवै विधामा पुरस्कार राशी समान हुने पनि अध्यक्ष विष्टले बताउनुभएको छ ।