हेटौंडा गोल्डकप प्रतियोगिताका लागि मकवानपुर ११ को टिम छनोट गर्नुहुँदै प्रशिक्षक विजयलाल श्रेष्ठ । फाइल तस्वीर ।

हेटौंडाः शुक्रबारदेखि सुरु हुने “भिडोल विजय युथ, हेटौंडा गोल्डकप–२०७७” का लागि मकवानपुर–११ टिमको घोषणा गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले बुधबार टिम घोषणा गरेको हो । मुख्य प्रशिक्षक विजयलाल श्रेष्ठ र सहायक प्रशिक्षक सुवास घिसिङले टिम छनोट गरेको हो । टिमको व्यवस्थापकमा विमल श्रेष्ठ रहनुभएको छ ।

आकाश कटुवालको कप्तानीमा मकवानपुर ११ को गोलकिपरमा सुवास बल, सफल तिमल्सिना र अभिषेक लम्साल लम्साल छन् । मकवानपुर–११ मा रोशन दोङ, एन्जल महर्जन, लक्ष्मण विडारी, इरोज थापा मगर, मिलन अर्याल, विश्व लामा, राशिव प्रजापति, रितेश श्रेष्ठ, रोहण बल, प्रीतम स्याङ्बो, दावा लामा, सुवास लामा, अनिष महर्जन, ऋषि लामा, समीरराज थोकर, मनोज घलान, सुजन खड्गे, सुनिल सुनार र सुजल श्रेष्ठ अटाएका छन् ।

करिब तीन साताको बन्द प्रशिक्षणपछि बुधबार २५ जनाको टिम घोषणा गरिएको प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिनुभएको छ । बन्द प्रशिक्षणमा रहेका मध्ये २५ जनालाई छनोट गरिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ । मकवानपुर–११ मा जिल्लाभित्र खेलाडी मात्रै समेटिएका छन् । एन्फा प्रशिक्षक समेत रहनुभएका श्रेष्ठका अनुसार नियमित प्रशिक्षणमा आउने युवा खेलाडीलाई प्राथमिकता दिएर मकवानपुर–११ को टिम निर्माण गरिएको छ । मकवानपुर–११ ले उद्घाटन खेलमा चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरको सामना गर्नेछ । माघ २३ गतेसम्म चल्ने प्रतियोगिता हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ ।