नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माविको व्यवस्थापन समिति मंगलबार चयन गरिएको छ । व्यवस्थापन समितिको अध्यक्षमा रमेशप्रसाद खतिवडा चयन हुनुभएको छ । व्यवस्थापन समितिको सदस्यमा कृष्णप्रसाद पनेरु, बाला चौलागाई, जोगमाया तामाङ, रमेश ढकाल, बिना बजगाई विडारी रहनुभएको छ । विद्यालय प्रधानाध्यापक नमराज अर्याल सदस्य सचिव रहेको समितिमा वडा अध्यक्ष रामकृष्ण कोइराला सदस्य हुनुहुन्छ ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाकी अधिकृत सरस्वती कोइरालाको उपस्थितिमा मंगलबार बिहान विद्यालयले नयाँ समिति चयन गरेको हो । यसअघि गत पुस ३ गते विद्यालयको अभिभावक भेला भएको थियो । अभिभावक भेलाका दिन सहमति हुन नसकेपछि व्यवस्थापन समिति चयन हुन सकेको थिएन । विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि चयन गर्न बाँकी रहेको प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभएको छ ।

प्रारम्भिक बालविकास कक्षादेखि १२ कक्षासम्म पठनपाठन भइरहेको जनप्रिय माविमा एक हजार छ सय विद्यार्थी अध्ययनरत छन् । जनप्रिय माविमा प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) सँगको सम्बन्धनमा १८ महिने र ३ वर्षे पुश तथा कृषि कार्यक्रम, शिक्षा विभागबाटै स्वीकृतिप्राप्त बाली विज्ञान (९–१२) विषयको पठनपाठन भइरहेको छ ।