‘सपनाका अवयव’ माथि चर्चा कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः साहित्यकार सुवास खनालको कविता कृति ‘सपनाका अवयव’ माथि शुक्रबार चर्चा गरिएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा भएको पुस्तक चर्चा कार्यक्रममा खनालको कविता कृतिमाथि प्राध्यापक घनश्याम घिमिरे, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दना, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम र साहित्यकार एसके निधनले टिप्पणी गर्नुभएको थियो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता तथा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विज्ञान विषयका विद्यालय शिक्षक भए पनि साहित्यमा सुवासको प्रभावशाली लेखन क्षमता भएको टिप्पणीकर्ताको भनाइ थियो । प्राध्यापक घनश्याम घिमिरेले सुवास खनाल कुनै स्थान विशेषको व्यक्ति भएर साहित्यकार भएको नभई लेखन क्षमताकै कारण साहित्यकार भएको बताउनुभयो ।

झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले सुवासले आफूलाई प्रगतिवादी कविको रुपमा दावी गरे पनि उनी प्रगतिवादी नभई प्रगतिवाद उन्मुख लेखकको रुपमा परिभाषित गर्नुभयो । गत भदौमा सार्वजनिक भएको खनालको दोस्रो कृतिमाथि कार्यक्रममा सहभागीले पनि चर्चा गरेका थिए ।