सेमीफाइनल खेलअघि सानोगौचरण भेट्रान्स काठमाडौं र हेटौंडा भेट्रान्स सुपरका टिम क्याप्टेन टिमको झण्डा आदानप्रदान गर्दै ।

हेटौंडाः हेटौंडाको हुप्रचौरमा जारी हेटौंडा भेट्रान्स कप ८ ‘ए’ साइड फुटबल प्रतियोगिताको फाइनलमा बगरभाई खलक पोखरा र सानोगौचरण भेट्रान्स काठमाडौं प्रवेश गरेको छ । उपाधिका लागि बगरभाई खलक र सानोगौरणबीच आज शनिबार फाइनल खेल हुनेछ ।

शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा बगरभाई खलक पोखराले चावहिल भेट्रान्स काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । ३५ औं मिनेटमा बगरभाई खलकका लागि विजयी गोल गर्ने मनोज गुरुङ म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार नै भएको दोस्रो सेमीफाइनल खेलमा सानोगौचरण भेट्रान्स काठमाडौंले हेटौंडा भेट्रान्स सुपरलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । सानोगौचरणका लागि १७ औं मिनेटमा प्रमोद पाठक र १९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका थिए । खेलको ४२ औं मिनेटमा हेटौंडा भेट्रन्स सुपरका जंगे बाले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।