हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य सेवाको क्षेत्रमा मुनाफा भन्दा सेवाभाव राख्नुपर्ने बताउनुभएको छ । बुधबार हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालको अति सघन उपचार कक्ष (आइसीयु) सहितको नयाँ भवनमा स्थापना गरिएको ट्रमा सेन्टरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मकवानपुर जिल्लाको स्वास्थ्य सेवाको क्षेत्र सुधार गर्न प्रदेश सरकार अग्रसर रहेको र निजी क्षेत्रको लगानी स्वास्थ्य सेवाको विकासमा सहयोगी भूमिकामा रहने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा गर्ने लगानीको मुनाफा जरुरी भए पनि त्यो उचित हुनुपर्ने र सेवाभावबाट बढी प्रेरित हुनुपर्ने बताउनुभयो । बागमती प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश सरकारले मकवानपुर जिल्लाको स्वास्थ्य सुधारमा उल्लेखनीय कार्य गर्दै आएको उहाँले दावी गर्नुभयो । प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्दै स्वास्थ्य सेवाको विस्तार गर्नुका साथै मेडिकल शिक्षा र स्वास्थ्य सम्बन्धी अनुसन्धानमा केन्द्रित रहेर काम गर्ने मुख्यमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।
जिल्लाको स्वास्थ्य सेवा गुणस्तरीय नभएकै कारण जिल्लावासीले जिल्ला बाहिर गएर स्वास्थ्य उपचारमा अर्बौ रुपैयाँ खर्च गरिरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले मकवानपुरको स्वास्थ्य सेवाको सुधार र विकासमा मुख्यमन्त्री या प्रदेश सरकारको मात्रै जिम्मेवारी हो भनेर नठान्न र आम नागरिक सबैले आआफ्नो दायित्व र जिम्मेवारी हो भनेर मनन् गर्न पनि आग्रह गर्नुभयो । सरकारी संस्थामा कार्यरत चिकित्सकहरुले निजी स्वास्थ्य संस्थामा पनि काम गर्न पाउने भए पनि सरकारी कार्यालयको कार्यसमयमै निजी अस्पतालमा सेवा प्रदान गर्ने अवस्था हुन नहुनेमा मुख्यमन्त्री पौडेलले सचेत गराउनुभएको छ ।
सहकारीमार्फत सेवामूलक कार्य भएकोमा आफू प्रभावित भएको उल्लेख गनुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निजी तथा सहकारी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई आवश्यक सहयोग गरी सहयोगी संस्थाको रुपमा लिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहकारी अस्पतालले उल्लेख्य संख्यामा मकवानपुरवासीलाई सेवा प्रदान गरिरहेकोप्रति आफू जानकार रहेको बताउनुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थाले निजी तथा सहकारीको अवधारणामा स्थापित स्वास्थ्य संस्थालाई प्रतिस्पर्धी स्वास्थ्य संस्थाको रुपमा नबुझी सहयोगी निकायको रुपमा बुझेर आवश्यक समन्वय गर्नुपर्ने सुझाव दिनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सरकारी स्वास्थ्य संस्थाको असल नियत हुँदा हुँदै पनि सेवा, सुविधा पर्याप्त हुन नसकेको अवस्था औँल्याउनुभयो ।
हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सरकारी स्वास्थ्य संस्था र निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाबीच सहकार्य जरुरी रहेको औँल्याउनुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने चिकित्सकलाई सरकारी स्वास्थ्य संस्थामै कार्य गर्ने समयमा निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाले काममा लगाउन नहुनेप्रति सचेत गराउनुभयो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीमार्फत अस्पताल सञ्चालन हुनु सराहनीय रहेको उल्लेख गर्नुहुँदै अन्तरसहकारी लगानी गर्न सकिने व्यवस्था लागु भएकोले लगानीको स्रोत समेत विस्तार भएको बताउनुभयो ।
मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा आइसीयुसहितको सेवा विस्तार गर्न पाउँदा खुसी र गर्व लागेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको क्षेत्रमा सुरक्षाको चुनौति रहेको औँल्याउनुहुँदै सहकारी अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्नुका साथै सेवाको गुणस्तर बढाउँदै लैजाने बताउनुभयो ।
सरकारी स्वास्थ्य संस्थाबाट सेवाको विस्तार र गुणस्तरमा अभिवृद्धि हुनुले सहकारी अस्पताललाई पनि सहयोग पुग्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको हो । २५ बेडको मकवानपुर सहकारी अस्पतालले बेडको क्षमता वृद्धि गर्ने योजना बनाए पनि स्वीकृति कुन निकायले दिने भन्ने अन्यौलका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको अध्यक्ष महर्जनले बताउनुभयो ।