साङ्केतिक तस्बिर goole.com

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले नेपाल सरकारले दिने अनुदानको मलको बिक्री मूल्य तोकेको छ । भीमफेदी गाउँपालिकाको ८ वटै वडामा सहकारीमार्फत् बिक्री गरिने अनुदानको मलको मूल्य तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले बताउनुभयो ।

सरकारी अनुदानको युरिया, डीएपी र पोटास मल गाउँपालिकामा सूचीकृत भएको सहकारीहरुले किसानलाई तोकिएको मूल्यमा बिक्री गर्नुपर्ने उहाँले बताउनुभयो । भीमफेदी गाउँपालिकाको वडा नम्बर १ र २ मा ५० किलोको प्रतिबोेरा युरिया मल ९ सय रुपैयाँ, डीएपी मल प्रतिबोरा २ हजार ३ सय ५० रुपैयाँ र पोटास मल प्रतिबोरा १ हजार ७ सय ५० रुपैयाँमा बिक्री गर्नुपर्नेछ ।

यस्तै, वडा नम्बर ३ र ४ मा ५० किलाको प्रतिबोरा युरिया मल ९ सय १० रुपैयाँ, डीएपी मल २ हजार ३ सय ६० रुपैयाँ तथा पोटास मल १ हजार ७ सय ६० रुपैयाँमा सूचीकृत सहकारीले बिक्री गर्नुपर्ने भएको हो । वडा नम्बर ५, ६ र ९ मा ५० किलोको प्रतिबोरा युरिया मल ९ सय २० रुपैयाँ, डीएपी २ हजार ३ सय ७० रुपैयाँ र पोटास १ हजार ७ सय ७० रुपैयाँमा बिक्री गर्नुपर्नेछ ।

गाउँपालिकाको ७ नम्बर वडामा भने युरिया ५० किलोको प्रतिबोरा ९ सय ६० रुपैयाँ, डीएपी प्रतिबोरा २ हजार ४ सय १० रुपैयाँ र पोटास मलको १ हजार ८ सय १० रुपैयाँ मूल्य तोकिएको छ । वडा नम्बर ८ मा ५० किलो युरियाको १ हजार १० रुपैयाँ, डीएपी २ हजार ४ सय ६० रुपैयाँ तथा पोटास प्रतिबोरा १ हजार ८ सय ६० रुपैयाँ मूल्य तोकिएको छ ।

ढुवानी खर्चका कारण वडाअनुसार फरक–फरक मूल्य तय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुँवरले जानकारी दिनुभयो । अनुदानको मल व्यवस्थापन निर्देशिका २०७७ अनुसार गाउँपालिकाले मल बिक्रीका लागि सहकारीहरुलाई सूचीकृत गरेको थियो । सूचीकृत भएका सहकारीलाई कृषि सामग्री कम्पनी लिमिटेड, बागमती प्रदेश कार्यालय हेटौंडाले मल उपलब्ध गराउनेछ ।