घुस लिनेभन्दा घुस दिने अपराधि हो । यो भनाई शतप्रतिशत सत्य हो । किनभने दिनेले नदिए लिनेले कसरी लिने । तर, वास्तविकता ठिक उल्टो छ । मालपोत कार्यालय मकवानपुरमा पनि पछिल्लो समय यस्तै घुस लेनदेनको परिपाटी मौलाउँदै गएको छ । कामको प्रकृति हेरेर सानोदेखि ठूलो रकम कति हो कति ? दृष्टिबन्धक गर्न ५ हजार दिए एक–दुई दिनभित्र काम हुन्छ । नदिए एक हप्ताभन्दा बढी लाग्नसक्छ ।
यो सञ्जालको जालो निकै जेलिएको छ । लेखापढी व्यवसाय गर्नेहरुबाट मालपोतमा काम लिएर आउने सेवाग्राहीलाई फसाउन सुरुवात हुन्छ । घुस नदिने सेवाग्राही भन्छन्, चार–पाँच दिन भइसक्यो । दिनका दिन धाउँछु । झ्यालमा उभिएर बस्छु । भित्रबाट छानीछानी काम हुन्छ । अझै कति दिन लाग्ने हो ? अब यो अवस्थामा जोकोही भएपनि जानाजान घुस दिएर अपराधि बन्नु बाध्यता होइन र ? ती निरीह सेवाग्राही कति पीडित छन् ।
यो गुनासो सुन्ने निकाय जानकार भएपनि आँखा भएर अन्धो, कान भएर पनि बहिरो भए झैं किन मौन छ, अख्तियार र प्रशासन ? हाम्रै पसिनाबाट जम्मा भएको ढुकुटीबाट पालितपोषित ती भ्रष्ट कर्मचारीलाई घुस खान छुट छ ? हैनभने किन घुस लिनेदिने परिपाटी अन्त्य हुँदैन ? घुस खाने कर्मचारीलाई निरुत्साहित गर्न किन सकिएको छैन ? गुनासो सुन्ने निकाय पनि छ भन्ने अनुभूति किन हुन सकेको छैन ? जसको माध्यमबाट घुस लेनदेन हुने गरेको छ, तिनीहरुलाई कारबाहीको दायरामा ल्याएर घुस फिर्ता गर्न पहल गरियोस् ।
प्रेम लामा
हेटौंडा—१४, नयाँबस्ती