हेटौंडाः हेटौंडा–११, थानाभर्याङमा आइतबार बिहान एकजना पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्ग छेउमा मृत अवस्थामा फेला परेका उक्त व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अन्दाजी ३५–४० वर्ष उमेर भएको गहुँगोरो वर्णको करिब ५ फिट ५ ईन्च उचाई भएको पुरुषको शवलाई प्रहरीले पोष्टमार्टमका लागि हेटौंडा अस्पतालको शवगृहमा ल्याएर राखेको छ । मृतकको कपाल कालो र छोटो, हल्का दाह्री–जुंगा आएको, चिउँडोमा कालो रंगको माक्स र खुट्टामा म्याजिक चप्पल लगाएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मृतकले बायाँ छातीको भागमा अँग्रेजी अक्षर ‘के’ लेखेको निलो रंगको विन्क सिटर (ज्याकेट), सेतो रङको फुल सर्ट, अगाडि बायाँ छातीको भागमा ‘पौल एण्ड सार्क याचिङ’ लेखेको कलर र बाउलाको भागमा कालो लाइन भएको हाल्फ टिसर्ट र बिगबोस लेखेको सेतो सेण्डो लगाएको छ । यस्तै, अगाडि दाहिने तिघ्राको भागमा ‘फेडेरेसन रोमाना डेफोटबल फाउण्डटा इननुल १९०९’ लेखेको पहेँलो धर्का भएको निलो ट्राउजर र दाहिने तिघ्राको भागमा स्पोर्टस् लेखेको खरानी रंगको हाफपाइन्ट लगाएको प्रहरीले जनाएको छ । मृतकको हुलिया सार्वजनिक गर्दै प्रहरीले मृतकलाई चिन्नुहुनेले नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जानकारी गराउन अनुरोध गरेको छ ।