हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आठौ नगरसभा आइतबार सम्पन्न भएको छ ।उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको आठौं नगरसभामा सम्पन्न भएको हो । सभामा छलफल तथा निर्णयका लागि मेयर महतले विभिन्न प्रस्तावहरु पेश गर्नुभएको थियो ।

मेयर महतले विभिन्न वडाहरुबाट संशोधनका लागि ल्याइएका प्रस्तावलाई नगर कार्यपालिकाबाट पारित गरी स्वीकृतिका लागि नगरसभामा पेश गर्नुभएकोमा सभाले सर्वसम्मतरुपमा स्वीकृत गरेको छ । सभामा मेयर महतले उपमहानगरपालिकाको विभिन्न विषयगत समितिहरूबाट सिफारिस भई नगर कार्यपालिकाबाट नगरसभामा स्वीकृतिका लागि पेश भएका संशोधनसहितका योजना तथा कार्यक्रमहरुलाई पनि नगरसभाले स्वीकृत गरेको छ ।

उपमहानगरपालिकाको विधायन समितिबाट प्रस्ताव गरिएको वन विकाससम्बन्धी विधेयक, २०७७ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ लाई पनि नगरसभाले स्वीकृत गरेको छ । सभामा पेश भएको करको दर कायम गर्ने एवम् छुट गर्ने निर्णयलाई पनि नगरसभाले अनुमोदन गरेको बताइएको छ ।

उपमहानगरपालिकाको अन्तरवार्ता तथा सिफारिस समितिबाट विभिन्न मितिमा पदपूर्तिसम्बन्धी भएको निर्णयलाई पनि नगरसभाले अनुमोदन गरेको छ । विद्यमान उद्योग दर्ता सम्वन्धी ऐन, २०७७ को दफा ४ (२), दफा ४(३), दफा ५, अनुसूची १ (क) र (ख) तथा अनुसूची ४ संशोधनका लागि सभामा प्रस्ताव गरिएकोमा संशोधनका लागि स्वीकृति दिइएको छ । नगर खेलकुद विकास समिति ऐन, २०७७ को दफा २० को सदस्यको भत्तासम्बन्धी प्रावधानसमेत सभाले संशोधन गरेको छ ।

आठौं नगरसभामा हेटौंडा उपमहानगरपालिकाको उपमेयर मीनाकुमारी लामाले पूर्वाधार क्षेत्रतर्फको चालु आर्थिक वर्षको स्वीकृत ४ सय २९ वटा कार्यक्रमहरुमध्ये १ सय २७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा गएको बताउनुभएको थियो । सभामा उपमेयर लामाले सडक पूर्वाधारतर्फ ३७ वटा स्ल्याब ढलान सम्पन्न भई १२ किलोमिटर स्ल्याब ढलान सडक निर्माण भएको बताउनुभयो । उहाँले हाल ९० वटा चालु अवस्थामा र ३ सय २ वटा योजनाहरु सम्झौताको चरणमा रहेको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु तथा हेटौंडा उपमहानगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।