हेटौंडाः प्रतिनिधिसभा विघटनसँगै आगामी बैशाखको १७ गते र २७ गतेका लागि तोकिएको निर्वाचन तोकिएकै समयमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउनुभयो । नेकपा मकवानपुरको ओली समूहले शनिबार हेटौंडामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले ६४ प्रतिशतको बहुमत लिएर सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न नदिएपछि बाध्य भएर ताजा जनादेशका लागि निर्वाचन गर्न लागिएको बताउनुभएको छ

घोषित समयमै निर्वाचन सम्पन्न गर्नका लागि तयारी सुरु भइसकेको भन्दै उपप्रधानमन्त्री पोखरेलले चुनावको तयारी गर्न अन्य दलहरुलाई आग्रह गर्नुभएको छ । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका कारण पार्टी फुटको अवस्थामा पुगेको भन्दै सरकारलाई काम गर्न नसक्ने स्थितिमा पु¥याइएपछि जनताको बीचमा जानु परेको उहाँले बताउनुभयो ।

संसदको विशेष अधिवेशन बोलाएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिलाई महाअभियोग लगाउन प्रचण्ड–नेपालसहित झलनाथ खनालले हस्ताक्षर संकलन गरेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि जनताको बीचमा जाने निर्णय गरेको उपप्रधानमन्त्री पोखरेलले प्रष्ट पार्नुभयो । आफूहरुले निर्वाचन आयोगमा आवश्यक कागजात पेश गरिसकेकाले आधिकारिक नेकपाको मान्यता र सूर्य चुनाव चिन्ह केपी शर्मा ओली पक्षले पाउनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

केपा केन्द्रीय सदस्य एवम् युवा तथा खेलकुद मन्त्री दावा लामाले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको पक्ष नेकपाको मूलधार भएको दावी गर्दै नेतृत्व छाडेर जाने प्रचण्ड–नेपाल समूहलाई ओली नेतृत्वको नेकपाको मकवानपुरमा देखिएको भेलले बगाइदिने बताउनुभयो । ओली नेतृत्वको नेकपामा देखिएको जनलहर हेर्दा आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने भन्दै मन्त्री लामाले ओली नेतृत्वको भेललाई कसैले रोक्न नसक्नेमात्र नभई ओली नेतृत्वको राप र तापले बिरोधीलाई भष्म बनाउने बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावले कुनै पनि हालतमा आफू र आफ्नो पार्टीलाई गिराउन नसक्ने बताउनुभएको छ । सिटामोल नपाउने हेटौंडा अस्पतालमा ६२ जना चिकित्सक राख्न सकेको नदेख्नेहरुले सरकारको विरोध गरेको आरोप लगाउनुभयो ।

नेकपा केन्द्रीय सचिवालय सदस्य काशीनाथ अधिकारीले आफ्नै पार्टीका कतिपय नेताहरु सरकारको उपलब्धि खोज्न लाग्नुको साटो सरकार गिराउन लागेको भन्दै शक्ति सन्तुलनको आधारमा पार्टी चलाउन दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि गुटबन्दी गरेर विकास र समृद्धिको सपनालाई निरन्तर पछ्याउने प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पारेको बताउनुभयो ।

नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरका नेता देवराज रिमाललगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

एकालाल श्रेष्ठ पार्टी अध्यक्ष

नेकपा मकवानपुरको शनिबार हेटौंडामा सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलाले अध्यक्षमा एकालाल श्रेष्ठलाई चयन गरेको छ । नेकपा ओली समूहको कार्यकर्ता भेलामा नेकपा केन्द्रीय सदस्य तथा मकवानपुरका सहइन्चार्ज रामेश्वर रानाले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामी छिन्तुलाई कारबाही गरिएको र अध्यक्षमा श्रेष्ठलाई चयन गरेको घोषणा गर्नुभएको हो ।