राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेलाई सक्रिय सदस्यता प्राप्तीका लागि आवेदन दिनुहुँदै पार्टीका केन्द्रीय समिति अध्यक्ष कमल थापा ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न महाधिवेशनलाई ध्यानमा राखेर ३ लाख सक्रिय सदस्य बनाउने जनाएको छ । बिहीबार पार्टी अध्यक्ष कमल थापाले सक्रिय सदस्यताका लागि राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेलाई आवेदन बुझाउनुहुँदै पार्टीको सक्रिय सदस्यता वितरण अभियानको औपचारिक सुरुवात गर्नुभएको छ । हेटौंडा १८ हर्नामाडीमा वडास्तरीय भेलामा पार्टी जिल्ला अध्यक्ष न्यौपानेलाई केन्द्रीय अध्यक्ष थापाले सक्रिय सदस्यताको आवेदन बुझाउनुभएको हो ।

बैशाख २९ गतेका लागि पार्टीको महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको निर्वाचनलाई समेत लक्षित गरेर सदस्यता वितरण गर्न सुरु गरेको देखिन्छ । पार्टीको महाधिवेशनमा सहभागी हुन सक्रिय सदस्य हुनुपर्ने प्रावधान बमोजिम बिहीबार पार्टीको केन्द्रीय अध्यक्ष कमल थापाले सक्रिय सदस्यताका लागि आवेदन दिनुभई महाधिवेशनको प्रक्रिया समेत सुरु भएको राप्रपाका कार्यसम्पादन समिति सदस्य मधु अधिकारीले जानकारी दिनुभएको छ ।

महाधिवेशनमा महिला, मधेसी, सिमान्तकृत, दलित, पिछडिएका सबैको सहभागीता सुनिश्चित गरेको अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा राप्रपा केन्द्रीय समिति अध्यक्ष कमल थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ, सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मुलुकको विकास र समृद्धिको निमित्त राप्रपासँग स्पष्ट खाका भएको भन्नुहुँदै थापाले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको समेत दावी गर्नुभयो ।

कार्यसम्पादन समितिका सदस्य मधु अधिकारिले मकवानपुरको विकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्वपूर्ण भूमिका र योगदानको कदर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हर्नामाडीमा भएको कार्यक्रममा पार्टीको केन्द्रीय समिति अध्यक्ष कमल थापासँगै नेताहरु प्रलिता थापा, राजाराम बर्तौला, मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, शिव रिजाल, गुरु सापकोटा लगायतले सक्रिय सदस्यता फारम बुझाएका थिए ।