हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समूहको चुरीफुरी धेरै दिन नटिक्ने बताउनुभयो । नेकपा मकवानपुरको बकैया गाँउपालीकामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा नेकपा केन्द्रीय सदस्य खतिवडाले सत्ताको आडमा ओली समूहले चुरीफुरी बढेको भन्दै प्रतिगमनको बाटो समाउनेलाई जनताले माफ नगर्ने बताउनुभयो ।
नेकपाका जिल्ला सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी मगर ले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमबिरुद्ध एकजुट हुदैं टोलटोलमा संघर्षका कार्यक्रम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । राजा नटिकेको देशमा कुनै पनि तानाशाह टिक्न नसक्ने भन्दै पुलामीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेजीका लागि आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
नेकपा बकैया गाँउकमिटी अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला पार्टी कार्यालय सदस्य बद्री लम्साल, सचिवालय सदस्य लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, जिल्ला सदस्यहरु कृष्णप्रसाद चौलागाईं, सिर्जना थिङ, लोकनाथ गौतम, पर्शुराम गौतम, प्रेम डिमडुङ, अमर स्याङ्तानलगायतको आतिथ्यता रहेको थियो ।