हेटौंडाः प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते हुने भनिएको केन्द्रीय कमिटी बैठक पर्खन नसक्दा संसद विघटनको अप्रिय निर्णय हुन पुगेको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले बताउनुभयो ।
मकवानपुरको मनहरी गाउँपालीकामा बुधबार आयोजित गाउँकमिटी बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य न्यौपानेले प्रधानमन्त्री ओलीले पाचँ दिन पर्खन नसकेकाले देश दुर्घटनातिर गएको बताउनुभयो । ओली कमरेडले हत्तारिएर संसद विघटन गर्नुभयोु, केन्द्रीय सदस्य न्यौपानेले भन्नुभयो, पुस १० गते बस्ने बैठकले सबै गाँठाहरु फुकाएर लैजानेमा हामी विश्वस्त थियौं । नेकपाका केन्द्रीय सदस्यहरुबीच प्रधानमन्त्री ओलीलाई ५ बर्ष सरकार र पार्टीको नेतृत्व गर्न दिने र अर्का अध्यक्ष प्रचण्डलाई दिइएको अधिकार टुंग्याउने सल्लाह भइरहँदा अकस्मात संसद विघटन गरेर ओलीले तानाशाही प्रवृत्ति देखाएको न्यौपानेले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा नेता सूर्यचन्द्र न्यौपानेले विधि, विधान, पद्धति, बैठक नमान्ने ओली प्रवृत्तिले देशलाई बर्बादीतिर धकेलेको बताउनुभयो । नेकपा प्रदेश कमिटी सदस्य ललित घलानले ओलीका हावादारी योजना र भाषणले जनता वाक्कदिक्क भएको बताउनुभयो । मनहरी गाउँकमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको बैठकमा जिल्ला कार्यालय सदस्य श्रीधर पोखरेल, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, रेखा पुलामी मगरले ओलीको असंवैधानिक कदमको विरोध गर्नु भएको थियो ।